साग स्वर्णधारी कमललाई स्वर्ण
नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेतर्फ स्वर्ण विजेता कमल श्रेष्ठले १० औँ कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगितामा शुक्रवार स्वर्ण जितेका छन् ।
पुरुष १८–३५ वर्ष उमेर समूहमा नेपाल प्रहरीका कमलले ७.७३ अङ्क जोडे । ७.३९ अङ्कसाथ प्रहरीका प्रेमबहादुर लिम्बू तथा ७.३० अङ्कसाथ प्रहरीकै जितबहादुर बोट र ७.१० अङ्कसाथ नेपाल आर्मीका कृष्णबहादुर तामाङ तेस्रो भए । १३ औँ सागमा प्रेम र जित कांस्य तथा कृष्ण रजत विजेता हुन् । यो स्पर्धामा १३ औँ सागका कांस्यधारी शिशिर श्रेष्ठ र अश्विन रावतले पनि प्रतिस्पर्धा गरेका थिए ।
नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा नेपाल तेक्वान्दो सङ्घद्वारा आयोजित प्रतियोगिताको पुरुष यु–११ मा एब्सुलुट डोजाङका सुभन गुरुङ पहिलो, एब्सुलुटका एरिक राणा दोस्रो तथा एब्सुलुटका अपिल गुरुङ र स्युचाटारका अनीश श्रेष्ठ तेस्रो बने । उक्त स्पर्धाको महिलामा एब्सुलुटकी गुनमाया गुरुङले स्वर्ण, जैसिदेवलकी मुबिक्क्षा गजुरेलले रजत तथा अल्फाकी एरिता पुन र गोदावरीकी सनन्दा घिमिरेले कांस्य जिते ।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क चोङ सुकले एक कार्यक्रमबिच संयुक्त उद्घाटन गरे । उक्त अवसरमा राजदूत सुकले पदक विजेतालाई पुरस्कार स्वरूप प्रदान गरिने तेक्वान्दो सामाग्री तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाश शमशेर राणालाई हस्तान्तरण गरेका थिए ।
सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी भवनबाट सञ्चालित तीन दिने प्रतियोगितामा ३ सय ९० पुरुष र २ सय ३ महिला खेलाडी गरी जम्मा ५ सय ९३ खेलाडीको सहभागिता रहेको आयोजक तेक्वान्दो सङ्घका उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक भानु चन्दले जनाएका छन् । प्रतियोगिताअन्तर्गत व्यक्तिगतको पुरुष÷महिलामा ६–६ गरी १२, पेयर र टिममा ६–६ गरी १२ तथा फेमिली र तेक्वान्दो एरोबिकमा १–१ गरी २ सहित कुल २६ स्पर्धा समावेश छन् ।
यसै प्रतियोगिताबाट दक्षिण कोरियाले आयोजना गर्ने कोरियन एम्बासडर भर्चुअल पुम्से विश्व च्याम्पियनसिपका लागि नेपालबाट सहभागी हुन १६ खेलाडीको छनोट गरिने छ । कोरियन एम्बासडर भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगितामा विश्वका विभिन्न राष्ट्रमा पनि भइरहेको तेक्वान्दो सङ्घले जनाएको छ ।