खेलकुद टोली पटियाला प्रस्थान
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य देवकुमार अधिकारीको नेतृत्वमा राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक नवीन उप्रेती र बास्केटबल मुख्य प्रशिक्षक दिनेश नकर्मी भारतको पञ्जाबस्थित पटियाला प्रस्थान गरेका छन् । त्यहाँस्थित भारतीय खेलकुद प्राधिकरणअन्तर्गत रहेको नेताजी सुवास नेसनल इन्स्टिच्युट अफ स्पोर्ट्समा प्रशिक्षणको व्यवस्था पुनः सुचारु गराउने सम्बन्धमा पहल गर्न तीन सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको हो ।
२०५८ सालअघि राखेपले विभिन्न खेलका प्रशिक्षकलाई तालिमका लागि पटियाला पठाउने गरेकोमा त्यसयता सो क्रम रोकिएको छ । ‘विभिन्न खेलका प्रशिक्षकहरुले अवकाश पाइरहेको अवस्थामा हामीसंग पर्याप्त मात्रामा प्रशिक्षकको अभाव भइरहेको छ ।’ निर्देशक उप्रेतीले भने– ‘पटियालामा पुनः राखेपबाट तालिमका लागि प्रशिक्षक पठाउने सम्बन्धमा पहल गर्ने छौं ।’