राणाको निधन
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत विद्यालय खेलकुद विकास विभागका प्रमुख मदनजंग राणाको मंगलबार निधन भएको छ । ५४ वर्षिय राणाको हृदयघात कारण निधन भएको हो ।राणाको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन बुधबार राखेप हातामा राखिएको थियो । त्यसक्रममा युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल, राखेप उपाध्यक्ष लामा टेन्डी शेर्पा, सदस्य–सचिव केशवकुमार विष्ट, पूर्व खेलकुद मन्त्री एवं नेपाल खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेल, राखेप पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिना, कर्मचारी, खेलाडी, प्रशिक्षक, आफन्तजन, विभिन्न संघका पदाधिकारीलगायतले राणाको पार्थिव शरीरमा फूलमाला, पुष्पगुच्छा चढाएर भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
त्यसअघि राणाको पार्थिव शरीरमा सदस्य–सचिव विष्टले राखेपको झण्डा ओढ्याएका थिए ।राणाको बुधबारै पशुपति आर्याघाटमा दाहसंस्कार गरिएको छ । राणाका २ छोरा, १ छोरी र श्रीमति छन् ।
यसैबीच राखेप सदस्य–सचिव विष्टले राणाको निधनले सिंगो खेल क्षेत्रलाई दुखी तुल्याएको बताउदै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।