रुपाकोटमा पुरुष भलिबल प्रतियोगिता जारी

Manoj Shiama
23 May, 2016 9:28 am

 

सिद्धार्थ स्मृति क्लव, रुपाकोट–९ को आयोजनामा आइतवार भएको पुरुष खुल्ला प्रतियोगितामा सात खेल सम्पन्न भएका छन् । प्रतियोगितामा सिद्धार्थ स्मृति क्लव, एकता समाज थुम्की, शान्ति दिप माझकोट, गोरख कालीका क्वाटरफाइनलमा प्रवेश गरेका छन् । यसैगरी शान्तिदिप ए र हिमदृश्य पनि क्वाटरफाइनलमा प्रवेश गरेको आयोजकले जनाएको छ । यसैगरी खोरदी युवा क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । सोमवार क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेल हुने छ । खेल विहान ८ बजेबाट शुरु हुने संयोजक झलक कुमार गुरुङले जानकारी दिए ।
‘खेलकुदद्धारा स्वास्थ्यको सम्वद्र्धन, मेलाद्धारा पर्यटनको प्रवद्र्धन’ भन्ने मुल नाराका साथ कास्कीको रुपाकोट गाविस स्थित मोहरियामा जारी प्रतियोगितामा २० वटा समुह सहभागि छन् । क्लवले विगत तीन दशक देखि कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । मेलामा लोपोन्मुख घाटु नाच, सोरठी लगायतका साँस्कृतिका कार्यक्रमहरु प्रस्तुत गरिने क्लवका अध्यक्ष झलक कुमार गुरुङले जानकारी दिनुभयो । पर्यटकीय दृष्टिले महत्वपूर्ण रुपाकोट गाविस र ग्रामिण खेलमा सुहाउदो भलिवल खेलको प्रचारप्रसारका साथै स्थानीयरुपमा उत्पादित सामग्रीहरुको प्रदर्शनी गर्ने मुख्य उदेश्यले मेलालाई निरन्तरता दिइएको क्लव सदस्य गुमान गुरुङले बताए ।
खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने समुहले नगद ३० र दोस्रो हुनेले २० हजार रुपैया पाउने छन् ।साथै उत्कृष्ट सटर, लिफ्टर, खेलाडी र अनुशाशित समुहलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।
तीन दिने मेलामा तीन लाख रुपैया आम्दानी र २ लाख २० हजार खर्च हुने आयोजकले अनुमान गरेको छ । मेलाबाट बचेको रकम स्थानीय बालबच्चाहरुको शिक्षाको लागि खर्च गरिने बताइएको छ । वि.स. २०५६ सालमा स्थापित क्लवले रक्तदान, सरसफाई, पर्यटन र खेल पर्यटन प्रवद्धनात्मक कार्यक्रमहरु गर्दै आएको छ । मेलामा सहभागि हुने पाहुनाहरुको लागि होमस्टेको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।