राष्ट्रपति रनिङ सिल्ड राष्ट्रपतिबाट उद्घाटन हुने

युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने भएको छ । राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड राष्ट्रपतिबाट पहिलोपटक उद्घाटन हुन लागेको राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख प्रकाशचन्द्र घिमिरेले जनाएका छन् ।
आठ खेल समावेश प्रतियोगिताका खेलहरु जेठ १९ देखि २१ गतेसम्म उपत्यकाका विभिन्न स्थानमा हुने छन् ।एथलेटिक्स र फुटबल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, भलिबल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, कराते र कबड्डी सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर, तेक्वान्दो कोटेश्वर, उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहल तथा क्रिकेट कीर्तिपुरमा हुने छ ।
जम्मा ५३ स्वर्ण, ५३ रजत र ६५ कांस्य पदकका लागि भिडन्त हुने खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत मीनकुमार शर्माले जानकारी गराए ।
कूल पुरस्कार राशी ५ लाख ९४ हजार रुपैयाँ रहेको छ । समग्रमा टिममा पहिलो हुनेले २५ हजार, दोश्रोले २० हजार तथा तेश्रोले १५ हजार नगद पुरस्कार हात पार्ने छन् । व्यक्तिगत स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । टिम स्पर्धामा शीर्ष तीन स्थानमा रहने प्रत्येक टिमका खेलाडीलाई क्रमशः १ हजार ५ सय, १ हजार र ५ सय नगदबाट पुरस्कृत गरिने छ ।

Comment