स्पोर्टस् अवार्ड साउनमा
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डको १२ औं संस्करण आगामी ६ साउनमा काठमाडौंमा हुने भएको छ । मञ्चले आइतबार पत्रकार सम्मेलन गरी अवार्डको मिति र हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको बजाज पल्सरस“ग मुख्य प्रायोजन सम्झौता गरेको हो ।
हंशराज हुलासचन्द एण्ड कम्पनीका कार्यकारी अधिकृत शेखर गोल्छा र मञ्चका अध्यक्ष महेश आचार्यले सम्झौतामा हस्ताक्षर गरे । पल्सरले यो वर्ष मुख्य प्रायोजन सम्झौता बापत ३ वटा मोटरसाइकलसहित १५ लाख रुपैया“ उपलब्ध गराउने भएको छ । उत्कृष्ट खेलाडी पुरुष–महिला र लोकप्रिय खेलाडी बिधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । यो सम्झौता आगामी ५ वर्षका लागि थप गरिने जानकारी समेत गोल्छाले दिए ।
मञ्चले प्रत्येक वर्ष उत्कृष्ट खेलाडी महिला र पुरुष, युवा खेलाडी, प्रशिक्षक, लोकप्रिय खेलाडी, लाइफ टाइम एचिभमेन्ट अवार्ड, पारा एथ्लिट अवार्ड र स्पेशल अवार्ड गरी ८ विधामा खेलाडीलाई पुरस्कृत गर्दै आएको छ । विनाशकारी भूकम्प, त्यसपछिको अघोषित नाकाबन्दी र खेल पत्रकार सुमन भोम्जनको निधनका कारण मञ्चले गत वर्ष अवार्ड कार्यक्रम भने गरेन ।मञ्चका अध्यक्ष आचार्यका अनुसार सबै बिधामा मनोनित हुने खेलाडीहरुको नामावली खेलाडी छनोट समितिले छिट्टै सार्वजनिक गर्नेछ । अवार्ड कार्यक्रमका लागि भन्दै मञ्चले विभिन्न १२ वटा उपसमिति समेत गठन गरिसकेको छ ।
लोकप्रिय खेलाडीको छनोट भने एस.एम.एस भोटिङका आधारमा हुनेछ । मञ्चले हरेक वर्ष जुलाई २ अर्थात् विश्व खेलकुद पत्रकारिता दिवसको सेरोफेरोमा अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ ।