सूर्यकुमार क्षेत्री स्मृति फुटसल सोमबारदेखि
प्रथम सूर्यकुमार क्षेत्री स्मृति अन्तर मिडिया फुटसल प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक गोलपोस्ट स्पोर्ट्स एन्ड ट्रेनिङ सेन्टरले जनाएको छ ।
प्रतियोगितामा १३ टिमको सहभागिता रहने प्रतियोगिता सह–संयोजक एवं प्रेस युनियनका केन्द्रीय सदस्य माधव धितालले जनाएका छन् । सहभागी टिमलाई विभिन्न ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ ।
विजेताले २५ हजार, उपविजेताले १५ हजार तथा तेश्रो हुनेले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । स्व. क्षेत्रीका छोराको शिक्षामा केहि आर्थिक सहयोग गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकका प्रबन्ध निर्देशक केशव थापाले जानकारी गराए । पत्रकार क्षेत्रीको गत बैशाखमा ब्रेन ट्युमरका कारण निधन भएको थियो ।
तीनदिने प्रतियोगिताका खेलहरु भैसेपाटीस्थित सेन्टरमै हुनेछ । सभामुख ओन्सरी घर्ती मगरले उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतियोगिताको पहिलो खेल नेपाल टेलिभिजन र माउन्टेन टेलिभिजनबीच हुनेछ ।