सन्दिप र गीता पहिलो
काठमाडौंका सन्दिप शाह ठकुरी र रामेछापकी गीता लामाले प्रथम राष्ट्रिय खुला स्केटबोर्डिङ च्याम्पियनसिपमा शनिबार स्वर्ण जितेका छन् । सन्दिप पुरुष र गीता महिलामा पहिलो भए ।नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा चितवनका शरण श्रेष्ठ दोश्रो तथा भक्तपुरका गजेन्द्र बर्देवा तेश्रो भए । महिलामा ललिपतुरकी नेहा पुन दोश्रो तथा काठमाडौंकी रोजिना डंगोल तेश्रो भए । पुरुष÷महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र ३ हजारका दरले नगद पुरस्कार पाए । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगितामा सन्दिप र गीता वर्षको उत्कृष्ट स्केट प्लेयर घोषित भए । दुवैले ८ हजार मूल्य बराबरको स्केट बोर्ड पुरस्कार स्वरुप प्राप्त गरे ।
विजेतालाई पूर्व मन्त्री अग्निप्रसाद खरेल, युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव चूडामणि पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य नारायणप्रसाद पौडेल र नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखेले उद्घाटन गरेका थिए । प्रतियोगिताको पहिलो दिन शुक्रबार भएको छनोट प्रतिस्पर्धामा ७५ पुरुष र २५ महिला खेलाडी सहभागी भएका थिए । त्यसबाट ८ पुरुष र ४ महिला खेलाडीले फाइनल चरणमा शनिबार प्रतिस्पर्धा गरेका हुन् ।
कार्यक्रममा आयोजक संघका अध्यक्ष अच्युत खनालले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा स्केट पार्क निर्माण गर्ने योजना रहेको बताए ।