विश्व शारीरिक सुगठन शुक्रबारदेखि थाइल्यान्डमा सुरु हुँदै
विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघ (डब्लुबीपीएफ) को तत्वावधान र थाइल्यान्ड शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक्स संघको आयोजनामा आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन च्याम्पियनसिप शुक्रबारदेखि थाइल्यान्डको पर्यटकीय नगरी पटायामा सुरु हुँदैछ । प्रतियोगिताका खेलहरु समुद्रको निकारमा रहेको एम्बासडर सिटी होटलको कन्भेन्सन हलमा हुनेछ । पटायाको पुरानो होटल मध्येको एक करिब २ हजार कोठा क्षमताको एम्बासडर होटलमै खेलाडी र अफिसियललाई आयोजकले बस्ने र खाने व्यवस्था मिलाएको छ ।
एक महिलासहित ४ नेपाली खेलाडीले प्रतियोगितामा विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । शारीरिक सुगठनको पुरुष ६५ केजीमा अनिललाल श्रेष्ठ, स्पोर्ट्स फिजिक्स १७५ सेन्टीमिटर उचाइमा विनोद वज्राचार्य तथा फिटनेस फिजक्स र स्पोर्ट्स फिजिक्सको १७० सेन्टीमिटर उचाइमा विमललाल श्रेष्ठले नेपालको चुनौती पस्कने छन् । पाकिस्तानमा यसै वर्ष भएको दक्षिण एसियाली शारीरिक सुगठनमा कांस्य जितेका अनिललले मास्टर्स ४० वर्षमाथि पनि प्रतिस्पर्धा गर्नेछन् । विमलले छैटौं संस्करणको स्पोर्ट्स फिजिक्समा रजत जितेका थिए । विनोदको ‘डब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।
विमल र अनिलको खेल शुक्रबारै हुनेछ । विमलले शुक्रबार स्पोर्ट्स फिजिक्स तथा अनिलले ६५ केजी र मास्टर्स दुवैमा भाग लिनेछन् । शनिबार विनोद स्पोर्ट्स फिजिक्स र विमलले फिट्नेस फिजिक्समा खेल्नेछन् ।
महिलाको एथ्लेटिक फिजिक्स १७० सेन्टीमिटर उचाईसम्म ननिता महर्जनले भाग लिने छिन् । ननिताको प्रतिस्पर्धा भने प्रतियोगिताको अन्तिम दिन आइतबार हुनेछ ।
नेपाली शारीरिक सुगठनको इतिहासमा महिला खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन लागेको यो दोश्रो पटक हो । अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा गर्ने नेपाली महिला खेलाडी निर्मला महर्जन हुन् । निर्मलाले थाइल्यान्डको बैंककमै गत वर्ष भएको विश्व च्याम्पियनसिपको सातौं संस्करण तथा भुटानको थिम्पुमा भएको ५० औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा सहभागिता जनाएकी थिइन् ।
विमलसहित विश्व शारीरिक सुगठनमा तीन नेपाली खेलाडीले विभिन्न स्पर्धामा पदक जितेका छन् । दोश्रो संस्करणको शारीरिक सुगठनतर्फ ६५ केजीमा श्याम श्रेष्ठले कांस्य तथा सातौंको ५५ केजीमा रुजेश शाहीले रजत जितेका थिए । विश्व च्याम्पियनसिपमा नेपालले सुरुकै संस्करणदेखि नियमित रुपमा सहभागिता जनाउदै आएको छ । तीनदिने प्रतियोगितामा नेपालसहित ५६ राष्ट्रका खेलाडीले विभिन्न १५ स्पर्धामा आ–आफ्नो कौशल प्रदर्शन गर्नेछन् । अफ्गानिस्तान भिसाका कारण प्रतियोगितामा सहभागी हुन पाएन ।यसैबीच डब्लुबीपीएफको बिहीबार बसेको साधारण सभाले यसअघिका अध्यक्ष काजाकिस्तान र महासचिव सिंगापुरका डातुक पाउल छोलाई नै निरन्तरता दिदै चार वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ । त्यस्तै साधारणसभाले विश्व च्याम्पियनसिपको नवौं संस्करण २०१७ को अक्टोबरमा मंगोलिया तथा एसिायली च्याम्पियनसिपको ५१ औं संस्करण २०१७ कै अगष्टमा दक्षिण कोरियामा गर्ने निर्णय पारित गरेको साधारणसभामा सहभागी नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले जनाएका छन् ।
विश्व शारीरिक सुगठनमा दुई नेपाली निर्णायक ः
नेपालका दुई अन्तर्राष्ट्रिय जज शुक्रबारदेखि सुरु हुने विश्व च्याम्पियनसिपको आठौं संस्करण सञ्चालन गर्ने निर्णायक मण्डलमा रहने छन् । सुनील राजकर्णिकार र पुष्पकुमार श्रेष्ठले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न लागेका हुन् । डब्लुबीपीएफ अन्तर्राष्ट्रिय जजद्वयसंग यसअघि पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेको अनुभव छ ।
विश्व च्याम्पियनसिपको छैटौं (भारत) र सातौं (थाइल्यान्ड) संस्करणमा राजकर्णिकारले निर्णायकको भूमिका निर्वाह गरेका थिए । उनले भारतको मुम्बईमा भएको विश्व च्याम्पियनसिपका दौरान अन्तर्राष्ट्रिय जजको लाइसेन्स लिएका थिए ।
२०४२ सालमा फिट्नेसमा लागेका राजकर्णिकारको आफ्नै जिमखाना पनि छ । नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका उपाध्यक्ष दिनेश राजभण्डारीलगायतसंग मिलेर करिब डेढ वर्षअघि राजकर्णिकारले कालिमाटी चोकमा डिभाइन फिजिकल फिट्नेस सञ्चालन गरिहेका छन् । शारीरिक सुगठन तथा अन्य खेलका खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने बेला त्यहाँ शारीरिक अभ्यास गर्ने गरेका छन् । एकल लगानीमा राजकर्णिकारले ललितपुरमा गोल्ड्स जिम पनि खोलेका छन् । २०४९ सालमा स्थापना गरिएको गोल्ड्स जिम ललितपुर क्षेत्रकै सबै भन्दा पुरानो भएको राजकर्णिकारको दाबी छ । गोल्ड्स जिमबाटै उत्पादित सागर ताम्राकार र रोविन्सन शाक्यले नेपालको प्रतिष्ठित मानिने शारीरिक सुगठन प्रतियोगिता मिस्टर धर्मश्रीको उपाधि जितिसकेका छन् ।
श्रेष्ठले हिजो (बुधबार) मात्रै डब्लुबीपीएफ अन्तर्राष्ट्रिय जजको लाइसेन्स पाएका हुन् । त्यसका लागि श्रेष्ठले ५ सय अमेरिकी डलर शुल्कवापत बुझाए । त्यसअघि श्रेष्ठ एसियाली अन्तर्राष्ट्रिय जज थिए । ५६ वर्षिय श्रेष्ठले न्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको जिम्मेवारी सम्हाल्न लागेको यो छैटौं पटक हो । उनले नेपाल र भुटानमा भएको दक्षिण एसियाली शारीरिक सुगठन, भारत र चीनमा भएको एसियाली शारीरिक सुगठन तथा भारतमै भएको विश्व शारीरिक सुगठन च्याम्पियनसिपको विभिन्न संस्करणमा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।
लिड रोलसहित ३१ फिल्ममा अभिनय गरिसेका श्रेष्ठले २१ वर्षको छँदा पहिलो पटक मिस्टर बिराटनगरको उपाधि जितेका थिए । भारतको पश्चिमबंगालस्थित दार्जिलिङमा अध्ययनको सिलसिलामा रहँदा उनले मिस्टर दार्जिलिङको उपाधि हात पार्न सफल भएका थिए । उनले सबै भन्दा बढी फिल्म कलिउडका महानायक भनेर चिनिने राजेश हमालसंग खेलेका छन् । हमालसंग श्रेष्ठले ९ फिल्ममा संगै अभिनय गर्ने मौका पाएका थिए ।
श्रेष्ठले पनि विराटनगरमा एकल लगानीमा विराट जिम एन्ड फिट्नेस सञ्चालन गरिरहेका छन् । अभिनय र शारीरिक सुगठनलाई संगसंगै अगाडि बढाइरहेका श्रेष्ठ शारीरिक सुगठनबाटै आफूलाई सन्तुष्ती मिल्ने बताउछन् । भन्छन्– ‘शारीरिक सुगठननै मेरो पहिलो रोजाईं हो । मलाई शारीरिक सुगठनले नै बढी चिनाएको छ । डब्लुबीपीएफ अन्तर्राष्ट्रिय जजको लाइसेन्स पाएको छु । चानचुने उपलब्धी होइन यो । खुशी र गर्व महशुस गरेको छु । मौका मिल्यो भने अन्तर्राष्ट्रिय मास्टर्स (भेट्रान) प्रतियोगितामा अझै पनि खेल्ने इच्छा छ ।’