अनिललाल छैटौं स्थान
नेपालका अनिललाल श्रेष्ठ आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन च्याम्पियनसिपको पुरुष ६५ केजीमा शुक्रबार छैटौं भएका छन् ।
विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघ (डब्लुबीपीएफ) को तत्वावधान र थाइल्यान्ड शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक्स संघको आयोजनामा थाइल्यान्डको पटायास्थित एम्बासडर सिटी होटलको कन्भेन्सन हलमा भइरहेको प्रतियोगिताअन्तर्गत अनिलको तौलसमूहमा आयोजक थाइल्यान्डका ३ सहित ८ खेलाडीले प्रिजजिङ राउन्डमा प्रतिस्पर्धा गरेका थिए । ८ खेलाडी मध्ये शीर्ष पाँचमा रहने खेलाडीलाई पुनः फाइनल चरणमा प्रतिस्पर्धा गराइएको थियो । त्यसमा थाइल्यान्डका सोमखित सुमेथोवेत्चाकुन पहिलो, थाइल्यान्डकै सुरासक दोश्रो तथा भारतका राहुल सिन्दाह तेश्रो भए । मलेसियाका अब्दुल रानी चौथो तथा चीनका जाङ झियो यान पाँचौं स्थानमा रहे ।
यसै वर्ष पाकिस्तानमा भएको दक्षिण एसियाली शारीरिक सुगठनमा कांस्य जितेका अनिलले शुक्रबारै मास्टर्स ४० वर्षमाथि पनि प्रतिस्पर्धा गरेको थिए । विभिन्न देशका २३ खेलाडी सहभागी मास्टर्समा शीर्ष १५ स्थानभित्र नअटाएपछि अनिल प्रिजजिङ राउन्डबाटै बाहिरिए ।
अनिलले शरीरको माथिल्लो भन्दा तल्लो भागको कमजोरीले गर्दा अझ राम्रो नतिजा हासिल गर्न नसकेको प्रतिक्रिया दिए ।
‘थाई मै कमजोरी देखियो । खेलपछि जज र अरुको कुरा सुन्दा पनि मेरो माल्लिो भाग राम्रै रैछ । विकनेस भनेकै लवर पार्टमा देखियो ।’– खेलपछि अनिलले भने– ‘विस्तारै थाईलाई प्राथमिकता दिएर सुधार गर्दै लाने छु र संगैसंगै माथिल्लो भागमा पनि ध्यान दिने छु । यसो भएको खण्डमा पदक हासिल गर्न सकिन्छा भन्ने आशा छ ।’
शारीरिक सुगठनका मुख्य प्रशिक्षक समेत रहेका टिम प्रशिक्षक ज्ञानेन्द्र नकर्मीले पनि अनिलले तल्लो भागमै धेरै सुधार गर्न आवश्यक रहेको बताए ।
शुक्रबारै अर्का नेपाली खेलाडी विमललाल श्रेष्ठले स्पोर्ट्स फिजिकसको १७० सेन्टीमिटरसम्म उचाईमा भाग लिएका थिए । १३ राष्ट्रका १८ खेलाडी सहभागी उक्त स्पर्धामा विमल पनि प्रिजजिङ राउन्डबाटै बाहिरिए । विमलले छैटौं संस्करणको सोही स्पर्धामा रजत जितेका थिए । विमलले शनिबार फिट्नेस फिजिक्समा खेल्न बाँकी छ । त्यसैदिन विनोद वज्राचार्यले स्पोर्ट्स फिजिक्समा नेपालको चुनौती प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यु’ गर्नेछन् ।
प्रतियोगिताको पहिलो दिन नेपालका दुई डब्लुबीपीएफ अन्तर्राष्ट्रिय जजद्वय पुष्पकुमार श्रेष्ठ र सुनील राजकर्णिकारले विभिन्न तीन स्पर्धाको प्रिजजिङ र फाइनल चरणका खेलमा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।