दुवै खेल बराबर
सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत महिला फुटबलमा बुधबार भएको दुवै लिग खेल बराबरीमा टुंगिएको छ । समूह ‘क’ को लिग खेलमा डिफेन्डिङ च्याम्पियन एपीएफ क्लब र नेपाल प्रहरी क्लबले १–१ को बराबरी खेले । धीमकुमारी गुरुङले १८ औं मिनेटमा गोल गर्दै प्रहरीलाई अग्रता दिलाएकी थिइन् । एपीएफकी तेजकुमारी गुरुङले ३८ औं मिनेटमा गोल गरेपछि खेल बराबरीमा टुंगिएको थियो ।
बराबरीसंगै प्रहरी विजेता र एपीएफ उपविजेतका रुपमा सेमिफाइनल पुगे । प्रहरी र एपीएफको समान ७–७ अंक भएपनि गोलअन्तरका आधारमा प्रहरी समूह विजेता बनेको हो । प्रहरीले ८ गोल गर्दै १ गोल खाएको छ । आठै गोल गरेको एपीएफले २ गोल खाएको छ ।
दुहबी रंगशालामा भएको समूह ‘ख’ को लिगमा नेपाल आर्मी क्लब र मध्यमाञ्चलले गोलरहित बराबरी खेले । आर्मी ७ अंकसाथ विजेता र मध्यमाञ्चल ५ अंकसाथ उपविजेता हुँदै सेमिफाइनलमा पुगे ।
बुधबारको खेल समापनसंगै सेमिफाइनल समीकरण पनि तयार भएको छ । सेमिफाइनल प्रहरी र मध्यमाञ्चल तथा एपीएफ र आर्मीबीच शुक्रबार हुनेछ । समूह चरणको खेल बिहीबार सकिने छ । त्यसदिन पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल तथा पूर्वाञ्चल र मध्यपश्चिमाञ्चलले प्रतिस्पर्धा गर्नेछन् ।