गुरु चेला दुवै च्याम्पियन


टेबल टेनिसमा नेपाल पुलिसका स्यान्टु श्रेष्ठ नयाँ राष्ट्रिय च्याम्पियन बनेका छन् । श्रेष्ठले पुरुष एकलको फाइनलमा एपिएफका शिवसुन्दर गोथेलाई १२–१०, ११–७, ८–११, ११–४, ५–११, ११–९ ले पराजित गर्दै स्वर्ण पदक कब्जा गर्न सफल भए । च्याम्पियन बनेका श्रेष्ठले सेमिफाइनलमा नेपाल पुलिसका नै तिन पटक च्याम्पिएन भएका दिप साउनलाई पराजित गर्दै फाइनमा आफ्नो ठाउँ सुरक्षित गरेका थिए । यो जितसँगै सानो उमेरमा पाएको सफलताले आगामि दिनमा खेल्नको लागि अझ हौसला मिलेको श्रेष्ठले बताए ।
एपिएफका अम्मरलाल मल्लले कास्य पाएका छन । मणिले एपिएफका पुरुषोत्तम बज्राचार्यलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका थिए । बज्राचार्य दिप साउन विजेता भएको समयका उपविजेता थिए ।
सहिद रङ्गशालाको कर्वड हलमा मंगलबार भएको टेबल टेनिस अन्तर्गत एकल महिला तर्फ नेपाल पुलिसका नविता श्रेष्ठले स्वर्ण जितेकी छिन । नेपाल पुलिसका नै एलिन महर्जनलाई ११–०, ११–८, १०–१२, ११–४, ९–११, ११–८ ले पराजित गरेकी हुन । यो जितसँगै नविताले लगातार ६ पटक च्याम्पिएन हुँदै स्वर्णमा नाम लेखाउन सफल भएकी हुन । आफू लगातार सफल भएकोमा खुसी व्यक्त गर्दै नविताले आगामी दिनमा पनि सफल हुन सक्नेमा आफू सक्षम रहेको बताईन । नयाँ च्याम्पियन स्यान्टु विद्यालयमा रहदा नबीताकै शिष्य हुन् ।
पुलिसकी एलिना महर्जनले रजतमा चित्त बुझाईन भने नेपाल आर्मीका श्वेच्छा नेवाङ र नेपाल आर्मीका नै रविना महर्जनले कास्य पाए । नेपाल पुलिसले ६ वटा स्वर्ण पाएको छ । नेपाल आर्मीले एक स्वर्ण जितेको छ ।

Comment