ब्याडमिन्टनमा आर्मीको बाहुल्यता

Manoj Shiama
28 December, 2016 9:36 pm


नेपाल आर्मी क्लबले सातौं राष्ट्रिय खेलकुद अन्तरगत ब्याडमिन्टनमा आफ्नो बाहुल्यता देखाएको छ । नेपाल आर्मीका रत्नजित तामाङ्गले पुरुष एकल तर्फको खेलमा आफ्नै क्लबका दिपेश धामीलाई २१–१९, २१–११ सोझो सेटमा पराजित गर्दै स्वर्ण हात पारे । सुदूरपश्चिमका संजीव खड्का र नेपाल प्रहरीका बिष्णु कटुवालले कास्य पदक पाए ।काकरभिट्टास्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला एकल तर्फ सेनाकी नङ्गशल तामाङ्गले एपिएफकी शिक्षा श्रेष्ठमाथी १७–२१, २१–१२, २१–१० को जित निकाल्दै स्वर्ण प्राप्त गरिन् । आर्मीका अनुमाया राई र अमिता गिरीले कास्य पाए ।
पुरुष डबलमा पनि आर्मीकोनै जित रह्यो । आर्मीका रन्तजित तामाङ्ग र नविन श्रेष्ठको जोडीले आर्मीकै दिपेश धामी र सुरोज महर्जनको जोडीलाई २१–१९, १६–२१ र २१–१६ को तीन सेटमा पराजित गर्दै स्वर्ण कब्जा गरे । तेश्रो स्थानमा पुलिसका बिष्णु कटुवाल र दीपक बोहराको जोडी तथा एपिएफका जोसेफ अधिकारी र सुमन लिम्बुको जोडी रहे । महिला जोडी तर्फको खेलमा एपिएफकी पुजा श्रेष्ठ र शिक्षा श्रेष्ठको जोडीले आर्मीका मेघा चन्द र अनुमाया राईको जोडीलाई २१–१५, २१–८ को सोझे सेटमा पाखा लगाउंदै स्वर्ण हात पार्दा चन्द र राईको जोडीले रजत पाए । सेनाका जेसिका गुरुङ्ग र सुनैना मुखिया तथा नङ्गशल तामाङ्ग र अमिता गिरीको जोडीले कास्य पदक पाए ।
मिक्स डबल तर्फको खेलमा पनि आर्मीका दीदी भाईको जोडीलेनै स्वर्ण पाए । दीदी भाई नङ्गशल र रत्नजितको जोडीले एपिएफका शिक्षा श्रेष्ठ र सुदीप सेंढाईको जोडी माथी २१–११, २१–१० को जित हात पार्दै श्रेष्ठ र सेंढाईको जाडीलाई रजतमा खुम्चन बाध्य पारे । एपिएफका शोभा गोचन र विजित थापा मगर तथा अनुमाया राई र नविन श्रेष्ठको जोडी कास्यमा खुम्चिए ।