पुरुष फुटबलमा एपिएफ उपाधिनजिक
सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब बुधबार फाइनल पुगेको छ ।धरुरानस्थित एन्फा टेक्निकल सेन्टरमा भएको पहिलो सेमीफाइनलमा अतिरिक्त समयमा नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै एपिएफ फाइनल पुगेको हो । तर, लगत्तै नेपाल आर्मी र मध्यमाञ्चलबीच भएको दोस्रो सेमीफाइनल खेल भने निर्धारित समय र थप समयमा पनि गोलरहित बराबरी भएपछि अनिर्णित अवस्थामा नै स्थगित भएको छ । ट्राइब्रेकर गर्न समय अभाव भएपछि उक्त खेलको छिनोफानो बिहिबार बिहान ९ बजे सिधै टाइब्रेकरबाट हुने आयोजकले जनाएको छ ।
पहिलो खेलमा पनि एपिएफ र पुलिसबीच निर्धारित समयमा निर्णायक गोल हुन नसकेपछि थप ३० मिनेट खेलाइएको थियो । अतिरिक्त समयको १० औं मिनेटमा रामकुमार कुमालको पासमा युवराज खड्काले एपिएफका लागि पहिलो गोल गरे भने २९ औं मिनेटमा रामकुमारले दिएको पासमा नविन लामाले दोस्रो गोल गरे । रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही गोल गर्ने मौका खेर फालेका थिए । पहिलो हाफको १७ औं मिनेटमा हरि कार्की हेड गर्न चुक्दा एपिएफले अग्रता लिनबाट बञ्चित भयो भने २१ औं मिनेटमा श्याम नेपालीले डि बक्स भित्रबाटै गोल गर्न सकेनन् । उता, पुलिसले पनि पहिलो हाफको ५ मिनेटमा बुद्ध लामा गोल गर्न चुक्दा अग्रता लिन सकेन । निक्कै आक्रामक खेलेको पुलिसले लगत्तै ७ मिनेटमा जुमानु राईको प्रहार पनि गोलकिपरले समात्यो भने १२ आंै मिनटेमा भरत साहको प्रहार सीधै एपिएफका किपरले समाते । अतिरिक्त समयमा निरकुमार राईले वान भर्सेस वानमा पनि गोल गर्नबाट चुक्नु पुलिसको दुर्भाग्य भयो । उक्त खेलको म्यान अफ दि म्याच घोषित हुदै एफिएफका रामकुमार कुमालले एन्फा उपाध्यक्ष किसोर राईबाट नगद ५ हजार हात पारे ।
दोस्रो सेमीफाइनल खेलमा भने नेपाल आर्मी र मध्यमाञ्चलबीच निर्धारित र अतिरिक्त समयमा निर्णायक गोल हुन सकेन । अध्यारो भइसकेकोले टाइब्रेकर हुन नसकेपछि बिहिबार पुनः दुवै टोलीबिच सिधै टाइब्रेकर हुन भएको छ । बिहिबार टाइब्रेकरबाट फाइनल जाने टोली छानिए पछि हार्ने टिमले दिउसो तेस्रो स्थानको लागि नेपाल पुलिससँग खेल्नुपर्नेछ । विजेताले भने एपिएफसँग शुक्रबार फाइनल खेल्नेछ ।