श्यान्टू र एलिना च्याम्पियन
राष्ट्रिय च्याम्पियन श्यान्टू श्रेष्ठ र एलिना महर्जनले सम्झना कप खुला टेबलटेनिस प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् । दुवै प्रहरीका हुन् ।लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष सिंगल्स फाइनलमा श्यान्टूले एपीएफका चन्दन शाहीलाई ११–६, ११–७, ११–७, ८–११ र ११–३ ले पराजित गरे । जुनियर ब्वाइज सिंगल्समा पनि श्यान्टूले स्वर्ण जितेका थिए । सो स्पर्धाको गल्र्समा एपीएफकी सोनु थापा मगर पहिलो भएकी थिइन् ।
महिला सिंगल्सको उपाधि एलिनाले नेपाल आर्मीकी रविना महर्जनलाई ११–३, २३–२१, ९–११, ११–७ र ११–७ को सेटमा हराइन् ।
भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा काठमाडौंका नरेश रावल तथा ५० वर्षमाथि पुरुष सिंगल्समा काठमाडौंकै पन्नाकाजी शाक्यले स्वर्ण हात पारे ।
विजेतालाई पूर्व गभर्नर हिमालयशम्शेर जबरा, ओलम्पियन संगीना वैद्य, टेबलटेनिस पूर्व मुख्य प्रशिक्षक वृजेन्द्र हमाललगायतले पुरस्कृत गरे । सम्झना लेबोरेटरी क्लिनिकको मुख्य प्रायोजनमा भएको तीनदिने प्रतियोगितामा १ सय ५० खेलाडीले विभिन्न ८ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।