सनी र विकास सेमिफाइनलमा

Manoj Shiama
11 April, 2017 6:34 pm


त्रिभुवन आर्मी क्लबकाद्वय सनीसिंह सुनार र विकास गुरुङ १९ औं पुरुष राष्ट्रिय खुला तथा १२ औं महिला राष्ट्रिय तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष खुला तौलसमूहमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा सनीले नवलपरासीका अशोक मगर तथा विकासले एपीएफ क्लबका सुजन देउलालाई पराजित गरे । सोही स्पर्धामा आर्मीका बद्री थापाले काभ्रेका ओमराज लामा तथा एपीएफका रुपक नेपालीले रुपन्देहीका विशाल विकलाई हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । पुरुषमा पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार, तेश्रोले ७ हजार ५ सय र चौथोले ३ हजार नगद पुरस्कार पाउने छन् ।
नेपाल क्योकुसिन कराते डो संघ वज्र (आईकेओबी) द्वारा आयोजित प्रतियोगिताको महिलामा केन्द्रीय डोजोकी सविना श्रेष्ठ, नेपालगन्जकी विमला परियार, रुपन्देहीकी विन्दु चौधरी र आर्मीकी सन्जु विक सेमिफाइनलमा पुगे । महिला ५५ केजीमुनि नवलपरासीकी झलकुमारी महतो, आर्मीका अम्बिका भुजेल र शान्ति थापा तथा दोलखाकी अनुपा नेपालीले सेमिफाइनल यात्रा तय गरे । महिलाको दुवै स्पर्धामा प्रथम हुनेले ५ हजार, द्वितीयले २ हजार ५ सय, तृतीयले १ हजार र चौथोले ५ सय नगद पुरस्कार हात पार्नेछन् ।
प्रतियोगिताको राखेपका सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा सदस्य–सचिव विष्टले आफ्नै मौलिकता बोकेको यो खेललाई अन्तर्राष्ट्रियकरण गर्नु पर्नेमा जोड दिए । दुईदिने प्रतियोगितामा ७० खेलाडीले विभिन्न ४ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।