ब्यायाम मन्दिरमा चिन–अप र रक्तदान सम्पन्न
नेपालकै जेठो जिमखाना नेपाल ब्यायाम मन्दिरले नव वर्ष २०७४ को स्वागत अवसर पारेर चिन–अप प्रतियोगिता र रक्तदान कार्यक्रमको आयोजना गरेको छ । काठमाण्डौ ज्याठास्थित मंगलबार ब्यायामशालाका खेलाडीहरुबीच गरिएको चिन–अप प्रतियोगितामा विमललाल श्रेष्ठले पहिलो स्थान हासिल गरे । प्रथम स्थान हासिल गरेका बडी बिल्डिंगका अन्तराष्ट्रीय पदक विजेता विमलले ५ हजार नगद पुरस्कार र प्रमाण पत्र समेत प्राप्त गरे । यस्तै सोही प्रतियोगितामा दोस्रो र तेस्रो हुने सुजन तामाङ्ग र मनोज श्रेष्ठले क्रमशः ३ हजार र २ हजार नगद तथा प्रमाण पत्र हात पारे ।
पहिलो पटक आयोजना गरिएको उक्त प्रतियोगितालाई क्लबले हरेक वर्ष निरन्तरता दिने नेपाल ब्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले बताए । उक्त अवसरमा नेपाल ब्यायाम मन्दिरलाई सहयोग गर्ने विभिन्न ब्यक्तिहरुलाई पनि प्रशंसा–पत्र प्रदान गरिएको थियो । नयाँ वर्षको शुभकामना आदान प्रदान गर्ने प्रायोजनले गरिएको उक्त प्रतियोगिता पश्चात नेपाल ब्यायाम मन्दिरले रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो । नयां वर्षको आगमनमा यो समेत क्लबले सातौं पटक रक्तदान कार्यक्रमको आयोजना गरेको हो । क्लबको प्रांगणमा सम्पन्न उक्त कार्यक्रममा पुरुष र महिला गरी कुल ६५ जनाले रक्तदान गरेको अध्यक्ष प्रधानले जानकारी गराए ।