सोमले जिते पावर प्लाजा स्नुकर
सोम लामा बुधबार “पावर प्लाजा अल नेपाल ओपन स्नुकर च्याम्पियनसिप २०१७” जित्न सफल भएका छन् । हेटौडाका सोमले फाईनलमा बुटवलका रेगन श्रेष्ठलाई वेष्ट अफ ११ को खेलमा ६–३ फ्रेमले पराजित गर्दै नगद १ लाख जित्न सफल भए । उनले नगदका साथै मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । यसका साथै सोम सर्वाधिक ब्रेकर समेत भए । उनले एकै फ्रेममा ६१ अंकको ब्रेक गरेका थिए । त्यस वापत उनले थप १० हजार नगदका साथै ट्रफी प्राप्त गरे । दोश्रो भएका रेगनले मेडल, प्रमाण पत्र र ट्रफीका साथै नगद ५० हजार हात पारे ।
पावर प्लाजा स्नुकरको आयोजनमा भएको प्रतियोगितामा मोती तामाङ्ग र काठमाण्डौका संजककुमार मुल्मीले तेश्रो स्थानमा चित्त बुझाए । उनीहरुले नगद १५ हजार, मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । विजयी खेलाडीहरुलाई प्रमुख अतिथी नेपाल कराते महासंघ तथा नेपाल सितेरियो कराते संघका अध्यक्ष दावा गुरुङ्गले पुरस्कार वितरण गरेका थिए । बैशाख २ देखि १३ गते सम्म संचालन भएको प्रतियोगितामा ९० खेलाडीहरुको सहभागिता रहेको थियो ।