जुडो टोली हङकङ जाँदै


एसियाली जुडो च्याम्पियनसिपमा सहभागी हुन ७ खेलाडीसहति ९ सदस्यीय नेपाली टोली मंगलबार हङकङ प्रस्थान गर्दैछ । मे २३ देखि २८ तारिखसम्म हुने प्रतियोगिताको महिला ६३ केजीमुनि फुपुल्हामु खत्र, ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधान र ५२ केजीमुनि लीला अधिकारीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषको ६० केजीमुनि किरण गडेल, ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ, ७३ केजीमुनि सन्जित डंगोल र ८१ केजीमुनि मोहन सुनुवार छन् । मोहनले १७ वर्षपछि एसियाली च्याम्पियनसिपमा खेल्न लागेका हुन् । सन् २००० को एसियाली च्याम्पियनसिपमा मोहनले प्रतिस्पर्धा गरेका थिए ।
टिम व्यवस्थापकमा नेपाल जुडो संघका उपाध्यक्ष देवेन्द्र आचार्य र प्रशिक्षकमा पृथ्वी आलोक रहेका छन् । जुडो युनियन अफ एसिया (जेयुए) को कोंग्रेसमा सहभागी हुन जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य आइतबारै हङकङ प्रस्थान गरिसकेको जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा, जुडो संघका उपाध्यक्ष समेत रहेका कीर्तिपुर नगरपालिकाका नव निर्वाचित मेयर रमेश महर्जनलगायतले एक कार्यक्रमबीच दिबाइ गरे ।

Comment