कुराँस टोली उज्वेकिस्तान जाँदै

Manoj Shiama
24 May, 2017 7:56 pm


तेह्रौं राष्ट्रपति कप अन्तर्राष्ट्रिय कुराँस च्याम्पियनसिपमा सहभागी हुन एक खेलाडीसहित २ सदस्यीय नेपाली टोली बिहीबार उज्वेकिस्तानको टर्मिज प्रस्थान गर्दैछ ।
मे २६ देखि २९ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ७३ केजीमा दीपक छन्त्यालले प्रतिस्पर्धा गर्नेछन् । उक्त तौलसमूहको विजेताले २५ हजार, उपविजेताले १० हजार तथा तेश्रो हुनेले ७–७ हजार अमेरिकी डलर पुरस्कार पाउने छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता भएको ११ महिनाको अवधिमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन लागेको तेश्रो पटक हो । यसअघि दक्षिण कोरियामा भएको विश्व मार्सल आर्ट मास्टरसिप तथा भियतनाममा भएको एसियाली बिच गेम्समा कुराँसले सहभागिता जनाएको थियो । दक्षिण कोरियाको च्याम्पियनसिपमा सनमान गोलेले कांस्य पनि जितेका थिए ।
टोलीलाई राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पा र कुराँस संघका महासचिव ध्रुवराज न्यौपानेले एक कार्यक्रमबीच बिदाइ गरे ।