नागार्जुन र कीर्तिपुरको विजयी सुरुवात

प्रथम काठमाडौं अन्तरनगर कप नकआउट फुटबल प्रतियोगिताको मैत्रीपूर्ण खेलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टको कप्तानीमा रहेको कर्मचारी टोलीले मंगलबार जित हात पारेको छ । कर्मचारी टोलीबाट जिल्ला प्रशासन कार्यालय, आयोजक काठमाडौं जिल्ला समन्वय समिति, राखेप, काठमाडौं जिल्ला खेलकुद विकास समितिका प्रतिनिधिले प्रतिस्पर्धा गरेका थिए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा कर्मचारी टोलीले नवनिर्वाचित नगर प्रमुखको टोलीलाई ३–० गोलअन्तरले पराजित ग¥यो ।
अन्तरनगर कपको पहिलो दिन दुई खेल सम्पन्न भए । त्यसमा नागार्जुन र कीर्तिपुर नगरपालिकाले विजयी सुरुआत गरेका छन् । नागार्जुनले कागेश्वरी नगरपालिकालाई ३–१ ले पराजित ग¥यो भने कीर्तिपुरले गोकर्णेश्वरलाई ५–१ गोलले हरायो ।
प्रतियोगिताको संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले एक कार्यक्रमबीच उद्घाटन गरे । काठमाडौं जिल्ला समन्वय समितिको आयोजना र काठमाडौं जिल्ला खेलकुद विकास समितिको संयोजनमा भइरहेको प्रतियोगितामा काठमाडौंका १० नगरपालिकाको टिम सहभागी छन् । सहभागी १० नगरपालिका प्रतियोगिताको सह–आयोजक समेत हो ।
विजेताले १ लाख ११ हजार १ सय ११, उपविजेताले ५१ हजार १ सय ५१ र तेश्रो हुनेले २५ हजार १ सय ५१ नगद पुरस्कार प्राप्त गर्ने काठमाडौं जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक दामोदर भट्टराई (बद्री) ले जनाएका छन् ।
सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार नगदबाट पुरस्कृत गरिने छ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र फरवार्ड तथा सर्वाधिक गोलकर्तालाई समान ५–५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिताअन्तर्गत बुधबार टोखा र तार्केश्वर तथा चन्द्रगिरी र संखरापुर नगरपालिकाबीच खेल हुनेछ । फाइनल जेठ २८ गते हुनेछ ।

Comment