टोखालाई नगर कप फुटबल उपाधि
टोखा नगरपालिकाले प्रथम नगर कप नकआउट फुटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा टोखाले चन्द्रागिरी नगरपालिकालाई ५–३ गोलअन्तरले पराजित ग¥यो ।
टोखाले ३–० ले पछि परेको स्थितिलाई उल्ट्याउदै उपाधि जित्न सफल भएको थियो । पहिलो हाफमा चन्द्रागिरीले ३–० को अग्रता लिएको थियो । चन्द्रागिरीका रुजित पुडासैनीले तीनै गोल गरेका थिए । रुजित प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिदै १० हजार नगदबाट पुरस्कृत भए ।
टोखाले सम्भव पाँचै गोल दोश्रो हाफमा गरेको थियो । टोखाका लागि त्रिलोक दुराले २ तथा आशिष डंगोल, अनिल थापा र विजय श्रेष्ठले १–१ गोल गरे ।
काठमाडौं जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा जिल्ला समन्वय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगितामा कीर्तिपुर नगरपालिकाले तेश्रो स्थानमा चित्त बुझायो । कीर्तिपुरले नागार्जुन नगरपालिकालाई २–० ले हरायो । शीर्ष तीन स्थान हात पार्नेले उपाधिसंगै क्रमशः १ लाख ११ हजार १ सय ११, ५१ हजार १ सय ५१ र २५ हजार १ सय ५१ नगद पुरस्कार हात पारे ।
विधागत उत्कृष्टतर्फ गोलरक्षकमा टोखाका नवीन श्रेष्ठ, डिफेन्समा टोखाका गोविन्द रिमाल, मिडफिल्डमा टोखाका साजन डंगोल, फरवार्डमा टोखाका आशिष डंगोल र प्रशिक्षकमा चन्द्रागिरीका रमेश विष्ट उत्कृष्ट चुनिए । उत्कृष्ट सबैले समान ५–५ हजार नगद पुरस्कार पाए । कीर्तिपुरले अनुशासित टिमको उपाधि हात पा¥यो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपाने र उपाध्यक्ष दामोदर भट्टराई, आयोजक जिल्ला समन्वय समितिका स्थानिय विकास अधिकारी गोपाल अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदका पदक विजेता काठमाडौंका खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान गरिएको थियो । जेठ २३ देखि सुरु प्रतियोगितामा काठमाडौंका १० नगरपालिका सहभागी थिए ।