अन्तर एयरलायन्स टेबलटेनिस शनीबारदेखि

Manoj Shiama
23 June, 2017 10:26 pm

नेपाल वायु सेवा निगमको आयोजनामा अन्तर एयरलायन्स टेबलटेनिस प्रतियोगिता शनिबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु हुँदैछ । निगमको ५९ औं वार्षिकोत्सवका अवसरमा हुन लागेको प्रतियोगितामा विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा हुने निगमअन्तर्गत खेलकुद तथा क्रियकलाप उप कमिटीका संयोजक नवीनबहादुर शाक्यले जनाएका छन् । पुरुष÷महिला सिंगल्स र मिक्स डबल्समा प्रतिस्पर्धा हुनेछ । विभिन्न १५ एयरलायन्सका ४४ खेलाडी सहभागी हुनेछन् ।
सिंगल्सतर्फ पहिलो हुनेले काठमाडौं–हङकङ–काठमाडौं, दोश्रोले काठमाडौं–क्वालालम्पुर–काठमाडौं र तेश्रोले काठमाडौं–बैंकक–काठमाडांैको हवाइ टिकट पुरस्कार स्वरुप प्राप्त गर्नेछन् ।
यसैबीच निगमको वार्षिकोत्सवकै अवसरमा ब्याडमिन्टन, टेबलटेनिस र स्नुकरको आन्तरिक प्रतिस्पर्धा पनि भएको थियो ।
ब्याडमिन्टनको पुरुष सिंगल्समा जंगबहादुर चन्द पहिलो, रमेश आचार्य दोश्रो र प्रशान्त ओली तेश्रो भए । सोही स्पर्धाको महिलामा रचिता श्रेष्ठले स्वर्ण, कृतिका नेपालले रजत र निमा डोमा शेर्पाले कांस्य जिते ।
टेबलटेनिसको पुरुष सिंगल्समा पनि जंगबहादुरले नै स्वर्ण हात पारे । राजेश गुरुवाचार्य दोश्रो तथा बाबुराजा अवाले र समिर केसी संयुक्त रुपमा तेश्रो भए । त्यसै स्पर्धाको महिलामा रञ्जना पोखरेल पहिलो, निमा डोमा शेर्पा दोश्रो तथा उषा सिम्खडा र अन्जु शाह तेश्रो भए ।स्नुकरतर्फ नवीनबहादुर शाक्य, क्याप्टेन प्रदीप राजभण्डारी, क्याप्टेन अर्विन्द पहाडी र अमरमान डंगोल सेमिफाइनलमा प्रवेश गरेका छन् ।