सुशील र विनितालाई स्वर्ण

प्रदेश नं. १ का सुशील लामा र प्रदेश नं. ५ की विनिता विक पाँचौं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको १८ वर्षमाथि एकल पुम्सेमा शुक्रबार पहिलो भएका छन् । सुशील पुरुष र विनिता महिलामा पहिलो भए । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा सुशीलले प्रदेश नं. ७ का सुमित लामा तथा विनिताले प्रदेश नं. ६ की रमिला बुढा मगरलाई पराजित गरे । राष्ट्रिय तेक्वान्दो संघ नेपालद्वारा आयोजित प्रतियोगिताको १८ वर्षमाथि पेयर पुम्सेमा प्रदेश नं. ६ का सूर्य बुढा मगर र रमिलाको जोडी पहिलो भए । प्रदेश नं. ३ का मनीष चौधरी र अस्मी तामाङको जोडी दोश्रो स्थानमा रहे । पुरुष ३१ वर्षमाथि एकल पुम्सेमा प्रदेश नं. ३ का नारायणसिंह थिङ र प्रदेश नं. ७ का विजय महर्जन दोश्रो भए । प्रतियोगिताको राखेपका सदस्य–सचिव केशवकुमार विष्टले निर्णायक हरि बुढाथोकीलाई खेल सामाग्री हस्तान्तरण गरी उद्घाटन गरे । सो अवसरमा सदस्य–सचिव विष्ट, कोरियाली तेक्वान्दो प्रशिक्षक क्वान यङ दल र तेक्वान्दोका मुख्य प्रशिक्षक ध्रुवबहादुर गुरुङलाई आयोजक संघका अध्यक्ष शिव कोइराला र महासचिव राजकुमार कार्कीले सम्मान गरेका थिए । दुईदिने प्रतियोगितामा ७ प्रदेशबाट २० का दरले १ सय ४० खेलाडी विभिन्न १७ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।

Comment