आरोही सञ्जयलाई उपराष्ट्रपतिदेखि सर्वसाधारणसम्मको श्रद्धाञ्जली

Manoj Shiama
25 July, 2017 10:26 pm

हिमाल आरोहणका क्रममा ज्यान गुमाएका अल्ट्रा धावक एवं आरोही सञ्जय पण्डितप्रति उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्मले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । सञ्जयको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा राखिएको थियो । उपराष्ट्रपति नन्दबहादुर पुन, राखेपका संरक्षक एवं प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओन्सरी घर्ती मगर, उपप्रधान एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महरा, गृह मन्त्री जनार्दन शर्मा, पूर्व मन्त्रीहरु बामदेव गौतम, वर्षामान पुन, दलजीत विके श्रीपाली, पुरुषोत्तम पौडेल, गगनकुमार थापा, रामशरण महत, राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पा, सदस्य–सचिव केशवकुमार विष्ट, स्व. सञ्जयका पिता, दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका धावक जितबहादुर केसी, सागका कीर्तिमानी ४ स्वर्ण विजेता तेक्वान्दोका दिपक विष्ट, विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारी, प्रशिक्षक, खेलाडी, राखेपका कर्मचारी, आफन्तजन, काठमाडौंमा रहेका प्युठान वासी, सर्वसाधारणले सञ्जयको पार्थिव शरीरमा फुलमाला र पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।त्यस अवसरमा सञ्जयको पार्थिव शरीरमा उपराष्ट्रपति पुन, प्रधानमन्त्री देउवा र उपप्रधान एवं परराष्ट्र मन्त्री महराले राष्ट्रिय झण्डा, राखेपका उपाध्यक्ष शेर्पा र सदस्य–सचिव विष्टले राखेपको झण्डा तथा सञ्जय आफै अध्यक्ष रहेको नेपाल माउन्टेन रनिङ संघका उपाध्यक्ष जितबहादुर केसीले संघको झण्डा ओढाएका थिए ।सञ्जयप्रति श्रद्धाञ्जली दिएपछि प्रधानमन्त्री देउवाले एक साहसिक युवाको असमायिक निधनमा दुःख प्रकट गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरे ।सञ्जयको असार २ गते अमेरिकाको अलस्कास्थित माउन्ट डेनाली हिमाल आरोहण गर्ने क्रममा ‘हाइ अल्टिच्यूट सिक्नेस’ का कारण निधन भएको थियो । विभिन्न प्रकृया पूरा गरी सञ्जयको पार्थिव शरीर सोमबार राती मात्र काठमाडौं आइपुगेको थियो । अन्तिम संस्कारका लागि मंगलबारै उनको पार्थिव शरीर गृह जिल्ला प्युठानमा हेलिकप्टरबाट लगिएको छ ।