रंगशाला पुनर्निमार्ण पहिलो प्राथमिकता ः मन्त्री केसी
नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले भूकम्पले थलिएको दशरथ रंगशाला पुर्ननिमार्ण आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । मंगलबार दशरथ रंगशालाका साथै राष्ट्रिय खेलकुद परिषद् (राखेप) हाता र राष्ट्रिय टिम तयारीमा रहेका खेलाडीको स्थलगत निरिक्षण गर्ने क्रममा खेलकुद मन्त्री केसीले रंगशालाको पुर्ननिमार्ण द्रुत गतिमा अघि बढाउने बताएका हुन् । मन्त्री केसीले नयाँ योजनाका साथ सरोकारवाला निकायसंग सहकार्य गरेर १३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपालमै आयोजना गर्न अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले अनुगमनको क्रममा पुर्ननिमार्णको काम अघि बढेको पाईएको उल्लेख गर्दै आफ्नो कार्यकालमा नवनिमार्णको कामले तिव्रता पाउने बताए । उनले केही समयभित्रै खेलकुदमा परिवर्तन भएको खेलाडीले अनुभव गर्न पाउने बताए । मन्त्री केसीले परिषद् र मन्त्रालयको योजना अनुसार खेलकुदमा सुधारका काम अगाडि बढेको पाइएको बताए ।निरीक्षणका क्रममा मन्त्री केसीले राष्ट्रिय टिम तयारीमा रहेका कराते, तेक्वान्दो, बक्सिङ, एथलेटिक्स, जुडो, उसुलगायतका खेलाडी र प्रशिक्षकसंग प्रशिक्षणस्थलमै छुट्टाछुट्टै भेट गरी तयारीका बारेमा जानकारी लिएका थिए । त्यस अवसरमा उनले आगामी दिनमा के गर्दा तयारी अझ राम्रो हुन्छ भन्ने विषयमा प्रशिक्षकसंग जिज्ञासा राखेका थिए । प्रशिक्षकहरुले खेलाडीलाई वैदेशिक प्रशिक्षणको व्यवस्था वा स्वदेशमै विदेशी प्रशिक्षक झिकाइ प्रशिक्षण गराउनु पर्नेलगायतका विषयमा जोड दिएका थिए ।सो अवसरमा राखेपका सदस्य–सचिव केशवकुमार विष्टले खेलाडीको प्रशिक्षण र राखेप हाताको भौतिक पूर्वाधार निर्माणको प्रगतिका विषयमा मन्त्री केसीलाई जानकारी गराएका थिए ।