योङमुदोको प्रशिक्षक प्रशिक्षण सुरु
नेपाल योङमुदो संघको आयोजनामा प्रथम राष्ट्रिय योङमुदो प्रशिक्षक प्रशिक्षण बुधबारदेखि सीतापाइलास्थित हारती स्कुलमा बुधबारदेखि सुरु भएको छ ।
प्रशिक्षणको उद्घाटन भने नयाँ बानेश्वरस्थित अर्याल होटलमा युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले गरे । साताव्यापी प्रशिक्षणमा ५९ जनाको सहभागिता रहेको योङमुदोका उप–महासचिव लाकेन्द्र आचार्यले जानकारी गराए ।
सहभागीलाई कोरियाली योङमुदो संघका महासचिव क्वान मिन छु, अन्तर्राष्ट्रिय योङमुदो महासंघका जेनरल डाइरेक्टर क्वान सियोङबे र अन्तर्राष्ट्रिय योङमुदो महासंघका कम्पिटिसन प्रमुख क्वान तेइ यङले प्रशिक्षण दिने छन् ।
उद्घाटनका आयोजक योङमुदो संघका अध्यक्ष मोहनकुमार कार्की, वरिष्ठ उपाध्यक्ष समेत रहेका नेपाल पारा तेक्वान्दो संघका अध्यक्ष जनार्जन ढुंगेल र महासचिव अच्युत्तम लामिछानेले योङमुदो खेलको विविध पक्ष बारे प्रकाश पारेका थिए । योङमुदो खेलको श्रब्य–दृश्य पनि प्रस्तुत गरिएको थियो । सो अवसरमा नेपालले आगामी नोभेम्बरमा दक्षिण कोरियोको सिओलमा हुने तेश्रो योङमुदो विश्व च्याम्पियनसिपमा पनि सहभागिता जनाउन लागेको जानकारी दिइएको थियो ।