महिला हिंसा विरुद्ध अन्तरक्रिया
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा ‘महिला हिंसा विरुद्ध हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प’ विषयक एकदिने अन्तरक्रिया सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिहीबार सम्पन्न भएको छ ।
कार्यक्रममा युएनआईकी उपाध्यक्ष दीपा भारद्धाजले नेपालमा महिला हिंसाको अवस्था बारेमा प्रकाश पार्नुका साथै महिला हिसांको विविध पक्ष बारे जानकारी गराएकी थिइन् ।
युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले केहि समयएता राज्यले पनि महिलालाई विभिन्न क्षेत्रमा प्राथमिकता दिइरहेको बताउदै महिला हिंसा अन्त्य गर्न सबैले पहल गर्नुपर्नेमा जोड दिए ।
राखेपका सदस्य–सचिव केशवकुमार विष्टले महिला हिंसा खेलकुदको माध्यमबाट पनि धेरै हदसम्म कम गर्न सकिने बताउदै महिला हिंसा न्युनिकरणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्न आवश्यक रहेको बताए ।
राखेप कर्मचारी संघकी उपाध्यक्ष सरस्वती केसीले महिला पनि पुरुष भन्दा कम छैनन् भन्ने ढृद संकल्पका साथ महिला हिंसा विरुद्ध आवाज उठाउनु पर्ने आवश्यकता औलाइन् ।