बाढी पीडितको सहयोगार्थ कार्कीको दौड सम्पन्न

Manoj Shiama
12 November, 2017 7:05 am

 बाढी पीडितको सहयोगार्थ धावक रामसुन्दर कार्कीले जावलाखेल, ललितपुरदेखि सिन्धुलीगढीसम्मको दौड यात्रा शुक्रबार पूरा गरेका छन् । १ सय ३५ किलोमिटर दूरीको दौड यात्रा कार्कीले बिहीबार प्रारम्भ गरेका थिए । सप्तरीको मुसहर बस्तीका बाढी पीडितका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले दौडिएको कार्कीले बताएका छन् । कार्कीको दौड यात्रामा ओलम्पियन कृष्ण बस्नेतले स्कर्टिङ गरेका थिए । कार्की शुक्रबारै राजधानी आइसकेका छन् ।ललितपुर गोदावरी नगरपालिका गोदमचौर निवासी कार्कीले जावलाखेलदेखि सिन्धुलीगढीसम्म दौडेको दोश्रो पटक हो । यसअघि कार्की दौडेर नेपालको ७५ वटै जिल्ला पुगिसकेका छन् । त्यस्तै कार्कीले काठमाडौं–लुम्बिनी ६ पटक, काठमाडौं–दोलखा ३ पटक, काठमाडौं–पोखरा १ पटक, काठमाडौं–भारतको युपी १ पटक र काठमाडौंबाट भारतको पश्चिम बंगालहुँदै भुटान १ पटक दौडेका छन् । हालसम्म जम्मा १५ हजार किलोमिटर दूरी दौडेर पूरा गरिसकेको कार्कीले जानकारी गराए । कार्कीको दौड यात्रामा रुसलान, गोदावरी नगरपालिका, ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, सूर्यविनायक नगरपालिका, दरबार स्क्वायर मनी एक्चेन्ज, अल्का अस्पताल, ललितपुर निर्माण व्यवसायी संघ, नागरिक पत्रिका, अक्सिब्रिज कलेज, जुपिटर टोल सुधार समिति परिवार, इवामुरा कलेज अफ हेल्थ साइन्स, भद्रकाली स्पोर्ट्स, ललितपुर मिनि बस व्यवसायी समिति, राष्ट्रिय ज्येष्ठ नागरिक कोषलगायतले सहयोग रहेको बताइएको छ ।