मायांकाको दोहोरो जित
नेपाल प्रहरी क्लबकी मायांका राणाले राखेप च्याम्पियनसिपअन्तर्गत १४ औं राष्ट्रिय लनटेनिस प्रतियोगिताअन्तर्गत राउन्ड रोविन लिगको महिला सिंगल्समा आइतबार दोहोरो जित हात पारेकी छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा मायांकाले पश्चिमाञ्चलकी गंगा शर्मालाई ६–१ र ६–४ तथा एपीएफकी एनी माथेमालाई ६–१ र ६–१ को सोझो सेटमा पराजित गरिन् । मायांकाकी जुम्ल्याहा बहिनी प्रहरीकै माहिकाले पनि दोहोरो जित आत्मासात् गर्ने क्रममा नेपाल आर्मीकी अभिलाषा विष्टलाई ६–१ र ७–६(२) तथा एपीएफकी विजिशा श्रेष्ठलाई ६–२ र ६–२ को सेटमा हराइन् ।
महिला सिंगल्समै एनीले एपीएफकी भगवती विकलाई ६–१ र ६–१ तथा पश्चिमाञ्चलकी गंगाले आर्मीकी अभिलाषा विष्टलाई ६–३ र ६–३ ले पन्छाए ।
पुरुष सिंगल्सको राउन्ड रोविन लिगमा आर्मीका प्रणव खनाल र पश्चिमाञ्चलका अभिषेक बाँस्तोलाले दुई–दुई खेल जिते । प्रणवले प्रहरीका कमलबहादुर भण्डारीलाई ६–२ र ६–१ तथा प्रहरीका दावा शेर्पालाई ६–४ र ६–२ को सोझो सेटमा पाखा लगाए । अभिषेकले आर्मीका संरक्षकभूषण वज्राचार्यलाई ६–४ र ६–३ तथा प्रहरीका कमललाई ६–१ र ६–१ ले हराए । एपीएफका श्रीराम मगर पनि दुई खेलमा विजयी भए । उनले एपीएफकै सन्तोष खत्री ६–४ र ७–५ तथा पश्चिमाञ्चलका प्रदीप खड्कालाई ६–४ र ६–१ ले पराजित गरे ।
अन्य खेलमा पश्चिमाञ्चलका प्रदीपले प्रहरीका दावालाई ६–४, ४–६ र ६–२ तथा आर्मीका संरक्षकले एपीएफका सन्तोषलाई ६–१ र ७–६(५) ले पन्छाए ।