बाग्लुङमा प्रोफेसनल आइटीएफ च्याम्पियनसीप सुरु

Manoj Shiama
12 January, 2018 10:35 pm

बाग्लुङको बुर्तीबाङमा पाचौ प्रोफेसनल आइटीएफ तेक्वान्दो च्याम्पियनसीप शुक्रबार सुरु भयो । शुक्रबार ढोरपाटन नगरपालीकाका प्रमुख देव बहादुर नेपालीले प्रतियोगिताको उद्घाटन गरे । सो अबसरमा बाग्लुङमा आइटीएफ तेक्वान्दाको विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्ने ढोरपाटन तेक्वान्दो डोजाङका प्रमुख मदन घर्ती मगर, निसी रिभर तेक्वान्दो डोजाङका प्रमुख घनेन्द्र घर्ती मगर, उत्तर गंगा तेक्वान्दो डोजाङका प्रमुख मदन घर्ती मगरलाई सम्मान गरियो । उद्घाटन समारोहमा प्रमुख अतिथी नेपालीले आइटीएफ तेक्वान्दोको विकासमा पश्चिम बाग्लुङको भुमिका महत्वपूर्ण रहेको बताए । बिशेष अतिथी नेपाल आइटीएफका अध्यक्ष अन्जन धमलाले कार्यक्रमको सफलताको कामना गरेका थिए । नेपाल आइटीएफका उपाध्यक्ष तथा एनएमजीसीका अध्यक्ष प्रविण कार्कीले डेमोन्सट्रेसन गरेका थिए ।

ढोरपाटन तेक्वान्दो डोजाङको आयोजना, बाग्लुङ जिल्ला तेक्वान्दो संघको सह आयोजना तथा नेपाल आइटीएफको संरक्षणमा भएको दुइ दिने प्रतियोगितामा पुरुष तर्फ ५५ देखि ६३ तथा महिला तर्फ ४७ देखि ५५ किलो तौल समुहमा प्रतिसपर्धा हुने छ । विजेताले ५ सय ,उविजेताले ३ सय र तेश्रो हुनेले २ सय अमेरिकी डलर पुरस्कार पाउने छन् । प्रतियोगितामा आड टोलीका २९ खेलाडी सहभागि छन् ।

प्रतियोगिता आयोजक कमिटीका संयोजक भुपेन्द्र पुनले दिएको जानकारी अनुसार पहिलो दिन सम्पन्न खेलमा विजयी हुदै पुरुष तर्फ नेपाल आर्मी क्लबका लिलाधर बस्न्यात, पूर्वाञ्चलका दिलन राइ तथा एपीएफका योगेन्द्र धिमाल र गोविन्द खत्री क्वार्टरफाइनल प्रबेश गरे । महिला तर्फ आयोजक टोलीकी पुजा खुलाल मगर र एपीएफकी शान्ती खत्रीले पनि पहिलो चरणमा जित हात पारे ।