दिवंगत सुनील जोशीलाई गजराज जोशी आदर्श खेलाडी सम्मान

Manoj Shiama
11 February, 2018 8:02 pm

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले बार्षिक रुपमा गर्ने एनएनआइपिए उत्कृष्ट खेलाडी सम्मान कार्यक्रम यो बर्ष सोमबार टोखा नगरपालिकामा हुने भएको छ । गजराज जोशी आदर्श खेलाडी सम्मानबाट नेपाली खेलकुदमा सबैभन्दा बढि अन्तर्राष्ट्रिय पदक जित्ने भारोत्तोलनका पूर्व खेलाडी एवं मुख्य प्रशिक्षक सुनीललाल जोशीलाई मरणोपरान्त सम्मानित गरिने जनाइएको छ । यसैगरी, वरिष्ठ सञ्चारकर्मी श्याम चित्रकार एनएनआइपिए पत्रकारिता सम्मानबाट सम्मानित हुने छन् । गजराज जोशी आदर्श खेलाडी र एनएनआइपिए पत्रकारिता सम्मानका लागि अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष दीपक थापा र एनएनआइपिएका निवर्तमान अध्यक्ष दिपक विष्ट सम्मेलित तीन जनाको छनोट समिति गठन गरिएको थियो ।
यस पटक सातौं राष्ट्रिय खेलकुदमा समावेश ३५ खेल फुटबल, क्रिकेट, कराते, तेक्वान्दो, उसु, बक्सिङ, एथ्लेटिक्स, भलिबल, भारोत्तोलन, पौडी, जुडो, आर्चरी, सुटिङ, कुस्ती, लन टेनिस, सफ्ट टेनिस, टेबल टेनिस, कबड्डी, जिम्न्यास्टिक, बास्केटबल, ह्यान्डबल, हक्की, चेस, साइक्लिङ, स्क्वास, ट्रायथलन, खो खो, स्नुकर एन्ड बिलियार्ड, फेन्सिङ, शारीरिक सुगठन, ब्याडमिन्टन, आइटिएफ तेक्वान्दो, सेपाक ताक्रो, फुल कन्ट्याक्ट कराते र गल्फका उत्कृष्ट खेलाडी सम्मानित हुनेछन् ।