ह्यान्डबल टोली स्वागत र बधाई
नेपाल ह्यान्डबल संघले भारतको लखनउमा भएको पाँचौं दक्षिण एसियाली महिला ह्यान्डबल च्याम्पियनसिपमा दोश्रो भएको नेपाली टोलीको सम्मानमा आइतबार स्वागत तथा बधाइ कार्यक्रम आयोजना ग¥यो । मार्च ३१ देखि अप्रिल ४ तारिखसम्म भएको प्रतियोगितामा नेपाली ह्यान्डबलले अहिलेसम्मकै ठूलो उपलब्धि हात पार्ने क्रममा रजत जितेको थियो । यसअघि नेपाल ह्यान्डबलमा तेश्रोसम्म भएको थियो ।
खेलाडी टोलीमा उमा राई (कप्तान), बन्दना राई, जिना राई, निशा राई, कविता राई, शान्तिकला राई, देवकुमारी बाँस्कोटा, संगिता चौधरी, दुर्गा बोहरा, पार्वती चौधरी, कृष्णा चौधरी, कल्पना ओली, उमा राई, आइत लोमु शेर्पा र मञ्जु रावत रहेका छन् । प्रशिक्षकमा अरुणलाल कर्ण र रमेश सापकोटा छन् ।
नेपाल, भारत, अफ्गानिस्तान, बंगलादेश र भुटान गरी ५ राष्ट्र सहभागी प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा भएको थियो । नेपालले अफ्गानिस्तान, बंगलादेश र भुटानलाई पराजित गर्दै दोश्रो भएको थियो । नेपाल भारतसंग हारेपछि दोश्रोमा सीमित भएको हो ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले टोलीलाई बधाइ दिएका थिए ।