जर्जिया र भगवती फाइनलमा
Manoj Shiama
9 April, 2018 10:10 pm
जर्जिया चौधरी र भगवती विक एनके खुला सफ्ट टेनिस प्रतियोगिताको महिला सिंगल्समा सोमबार फाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कार्टमा भएको सेमिफाइनलमा जर्जियाले श्रीया राईलाई ४–१ तथा भगवतीले निमा दावा लामालाई ४–० ले पराजित गरे ।
नेपाल खेलाडी तथा प्रशिक्षक संघको सहकार्यमा सन् १९९० देखि २००८ का दौरान सफ्ट टेनिसकी राष्ट्रिय च्याम्पियन निरा कायश्थले आयोजना गरेको प्रतियोगिताको पुरुष सिंगल्समा युकेश योञ्जन, दिपेन्द्र थापा मगर, राजेन्द्र श्रेष्ठ, आशिष बोहरा, राजकुमार थापा, बृजेश पाण्डे, उमेश शाही र आभाष बुढाथोकी क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
यु–१४ गल्र्स सिंगल्समा आयशा डोल्कर गुरुङले फाइनलमा रोशनी लिम्बूलाई ४–१ ले हराउदै पहिलो भइन् । यु–१० ब्वाइज सिंगल्समा आयुशमान हजुर घले पहिलो भए । उनले फाइनलमा कुमार गिरीको चुनौती ४–१ ले समाप्त पारे ।
यु–१४ ब्वाइज सिंगल्समा प्रीतम परियार र सुरज चौधरी उपाधिका लागि भिड्ने छन् । यु–१० गल्र्स सिंगल्समा सुनिरा थापा फाइनलमा पुगिन् । सुनाराले रितिका चौधरी र रशिका पोखरेलबीचको विजेतासंग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छिन् ।
प्रतियोगिताको नेपाल सफ्ट टेनिस संघका अध्यक्ष विनयविक्रम शाहले एक कार्यक्रमबीच उद्घाटन गरे । मंगलबार सम्पन्न हुने प्रतियोगितामा विभिन्न ६ स्पर्धामा ५६ खेलाडी सहभागी छन् ।