प्रदीप सम्मानित

Manoj Shiama
20 November, 2018 2:20 pm

 हाप्किडोका पहिलो अन्तर्राष्ट्रिय पदक विजेता प्रदीप थापा सम्मानित भएका छन् । गत अक्टोबर १२ र १३ तारिखमा रुसको पिटर्सवर्गमा सम्पन्न युरोपियन अल स्टाइल स्पोर्ट्स हाप्किडो च्याम्पियनसिपमा कांस्य पदक जित्न सफल थापालाई गृहमन्त्री रामबहादुर थापा (बादल) ले सोमबार सम्मान गरेका हुन् ।

सिन क्योकोसिनका तेस्रो डान थापाले द युनियन अफ हाप्किडो रसियाको आयोजना भएको च्याम्पियनसिपमा ७२ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । पहिलो खेलमा बाई पाएका उनले दोस्रो खेलमा मेक्सिकोका खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए । तर, सेमिफाइनलमा आफूभन्दा निकै अग्ला रुसी खेलाडीसँग पराजित भएपछि उनी कांस्य पदकमै सीमित बनेका थिए । अल स्टाइल स्पोर्ट्समा भएको च्याम्पियनसिपमा अमेरिका, भारत, रसिया, अर्मेनिया, इरान, अस्ट्रिया, जर्मनी र नेपाललगायत एक दर्जन राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

हाप्किडोमा पहिलो पटक राष्ट्रका लागि पदक ल्याएका प्रदीपले यसअघि स्पोर्ट्स च्यानबारामा पनि अन्तर्राष्ट्रिय पदक जितेका थिए । थाइल्यान्डको बैंककमा भएको प्रतियोगितामा पहिलो पटक सहभागी भएका उनले भारतको हैदरावादमा भएको स्पोर्ट्स च्यानबारामा भने रजत पदक जितेका थिए । नुवाकोटको शिवपुरी गाउँपालिका–५ सिलामेका थापाले बक्सिङमार्फत खेलकुदमा प्रवेश गरेका थिए ।

मन्त्रालयमा आयोजित कार्यक्रममा हाप्किडो खेलाडी थापालाई सम्मान गर्दै गृहमन्त्री थापाले आगामी दिनमा अझ उच्च प्रदर्शन गर्दै राष्ट्रको नाम राख्न शुभकामना दिए ।