श्यान्टु र नविताको प्रभाव यथाबत


आठौं राष्ट्रिय खेलकुद अन्तर्गत ४० औं राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा नेपाल प्रहरीकाद्वय श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठ शनिबार च्याम्पियन भएका छन् । सिंगल्सको पुरुषमा श्यान्टु तथा महिलामा नविता पहिलो भएका हुन् । सातौं राष्ट्रिय खेलकुदमा पनि दुवैले सिंगल्स उपाधि जितेका थिए । च्याम्पियनद्वयले बिहीबार मिक्स डबल्समा पनि स्वर्ण जितेका थिए ।
दाङको घोराही कभर्डहलमा भएको पुरुष फाइनलमा श्यान्टुले आफ्नै क्लबका प्रदीप रोकालाई ११–१, ११–५, ११–६ र ११–५ को सोझो सेटमा पराजित गरे । शनिबारै भएको सेमिफाइनलमा श्यान्टुले एपीएफका शिवसुन्दर गोथेलाई ४–० तथा प्रदीपले एपीएफका विलोश श्रेष्ठलाई ४–२ ले हराउदै उपाधि भिडन्त पक्का गरे थिए । पराजयसंगै शिव र विलोशले तेश्रो स्थानमा रहे ।
महिला उपाधि भिडन्तमा नविताले प्रहरीकै आफ्नै नन्द एलिना महर्जनलाई ११–७, ११–५, ७–११, ११–९, ९–११ र १२–१० को सेटमा हराइन् । आर्मीका रविना महर्जन र दीक्षा तामाङले तेश्रो स्थानमा चित्त बुझाए । सेमिफाइनलमा नविताले दीक्षालाई ४–० तथा एलिनाले रविनालाई ४–२ ले निराश पारेका थिए ।
विजेतालाई प्रदेश सांसद अमर डाँगीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चैत २७ गतेदेखि सुरु प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली (आर्मी÷प्रहरी÷एपीएफ) बाट १ सय ६० खेलाडी सहभागी थिए । विभिन्न ७ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

Comment