मनाङमस्र्याङ्दी आहा रारा गोल्डकपको सेमिफाइनलमा

IMG_002011editedप्रेमनारायण न्यौपाने

पोखरा
त्रिभुवन आर्मी क्लबविरुद्ध २–१ को कठिन जीत हात पार्दै  लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले पोखरामा जारी १३ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता–२०७१ को सेमिफाइनलमा सुदूरपचिमाञ्चल फुटबल क्लबसँगको भेट पक्का गरेको छ।
पहिलो रोजाइका खेलाडीबिना मैदानमा उत्रिएको आर्मीलाई बुधबार पोखरा रड्डशालामा भएको अन्तिम क्वाटरफाइनलमा २–१ ले हराउँदै मनाङले सेमिफाइनलमा एन्फा यु–१६ का अधिकांश खेलाडी सहभागी टीम सुदूरपश्चिमाञ्चल एफसीसँगको भेट पक्का गरेको हो। मनाङको जीतमा म्यान अफ दी म्याच अनिल गुरुङले दुबै गोल गरेका थिए भने आर्मीको लागि राजीव गुरुङले गोल गरेका थिए।मनाङले दुवै गोल उतराद्र्धमा गरेको थियो।मनाङ र सुदूरपश्चिमाञ्चल एफसीबीचको सेमिफाइनल खेल फागुन १ गते हुनेछ।
गोलकिपर विकेश कुथु, स्ट्राइकर भरत खवास, मिडफिल्डर राजु तामाङ, टंक बस्नेत, टेकबहादुर बुढाथोकीजस्ता केही पहिलो रोजाइका खेलाडीलाई आराम दिएको आर्मीले बुधबारको खेलमा नियमित खेलाडी सन्तोष नेपाली र राजु नेपालीबाहेक राजीव गुरुङ, फुर्वा तामाङ, अनिल कपुर, याम खड्का, विजय महर्जन, शेषराज महतो, सुदीप श्रेष्ठ, बालकृष्ण श्रेष्ठलगायतका दोस्रो रोजाइका खेलाडी मैदानमा उतारेको थियो।
तथापी आर्मी सुरुवातमै आक्रमक देखिएको थियो । खेल सुरु भएको आठ मिनेटमै आर्मीको लागि राजीव गुरुङले उत्कृष्ट हेड गोल गरे। सुदीप श्रेष्ठको क्रसमा राजीवले डिबक्सभित्रबाट जम्प गर्दै पोस्टमा हेडिङ गरेका थिए। एक मिनेट अघिमात्र मनाङका विशाल राईको प्रहारलाई आर्मीका शेषराज महतोले क्लियर गरेर संकट टारेका थिए।आार्मीले गोल गरे पनि अधिकांश खेल मनाङले खेलेको थियो। १४ मिनेटमा आर्मीले दोस्रो गोल गर्ने अवसर गुमायो।कप्तान सन्तोष नेपालीले करिब २३ यार्डबाट हानेको फ्रिकिकलाई मनाङका विराज महर्जनले सिक्सयार्ड बक्सभित्रबाट क्लियर गर्दै विफल पारिदिए।
२० मिनेटमा मनाङका कप्तान शिव श्रेष्ठको लामो प्रहारलाई आर्मीका गोलकिपर फूलबहादुर लामाले डिबक्सभित्र फुत्काएर पनि नियन्त्रणमा लिए।२१ मिनेटमा शिव श्रेष्ठको वानटच भलि क्रसबारमाथिबाट गयो।विराजको क्रसमा डोडोजको हेड अर्मीका शेषराजे हेड गर्दा रिबाउण्ड भएको बललाई शिवले डिबक्सलाइनबाट हानेका थिए।३१ मिनेटमा डोडोजले डिबक्सभित्रबाट हानेको प्रहार क्रसबारमाथिको भाग रोज्यो।३९ मिनेटमा विराजकै क्रसमा सुजल श्रेष्ठको हेड सेकेण्डबार हुँदै बाहिरियो।४४ मिनेटमा डोडोजकै व्याक पासमा विशाल राईको प्रहार क्रसबारभन्दा केही इन्च माथिबाट बाहिरियो।४५ मिनेटमा आर्मीका सन्तोष नेपालीको प्रहारलाई मनाङका विशाल राईले हेड गर्दै असफल पारे।
सेकेण्ड हाफमा मनाङले आक्रामक खेललाई पुनः निरन्तरता दियो भने आर्मी रक्षात्मक भएको थियो । हिपपमा चोट लागेर फस्ट हाफमा नखेलेका नियमित कप्तान अनिल गुरुङ सुशील केसीको सट्टा मैदान प्रवेश गरेपछि खेल थप आक्रामक देखियो। ५५ मिनेटमा उनै अनिल गुरुङले बराबरी गोल गरे। दीपक राईको क्रसमा अनिलले हेड गोल गरे। गोलकिपर फूलबहादुर लामालाई जिल्याउँदै उनले पोस्टमा गरेको हेडिङले सजिलै गोलमा परिणत भयो । त्यसअघि ५० र ५२ मिनेटमा अनिलका दुवै प्रहार क्रसबारमाथिबाट बाहिरिएका थिए। ७२ मिनेटमा आर्मीले गोल दोब्बर बनाउने मौका गुमायो।फुर्वा तामाङले मनाङका डिफेण्डर मबाइल स्टेफेनलाई विट गरेर प्रहार गरेको बललाई गोलकिपर विशाल श्रेष्ठले डाइभ हानेर पञ्च गर्दै बाहिर फालिदिए।८२ औ मिनेटमा डोडोजकै प्रहार आर्मीका गोलकिपरले पञ्च गरेर विफल पारिदिए।८४ मिनेटमा मनाङको लागि अनिल गुरुङले निर्णायक गोल गरे।शिव श्रेष्ठको क्रसमा गोलकिपर अगाडि बढेको अवस्थामा अनिलले डिबक्सभित्रबाट हाफ भलि हान्दै व्यक्तिगत दोस्रो गोल गरे।
९० मिनेटमा अनिलले ह्याट्रिक गर्ने अवसरमा चुके।डोडोजको क्रसमा उनको हेड सेकेण्डबार हुँदै बाहिरियो।
हारपछि आर्मीका प्रशिक्षक महेन्द्र खवासले पहिलो रोजाइका खेलाडी इलामको खेलमा घाइते भएकोले दोस्रो रोजाइका खेलाडी उतारेको बताए। घाइते खेलाडी खेलाउँदा थप घाइते भए भने नेशनल लिगमा असर पुग्छ भनेर उनीहरूलाई रेस्ट दिइएको हो’–नियमित प्रशिक्षक मेघराज केसीको अनुपस्थितिमा प्रशिक्षक भएका खवासको भनाइ थियो–‘हाम्रो टार्गेट नेशनल लिग हो, त्यसैले मेन खेलाडीलाई रेस्ट दिएका हौं।’ उनले एक गोलले लिड गरेपछि सेकेण्ड हाफमा डिफेन्सिभ गेम खेलेकोले गोल खाएको बताए।
जीतपछि मनाङका प्रशिक्षक राजुकाजी शाक्यले फस्ट हाफमा धेरै गोल गर्ने चान्स पाए पनि आर्मीले राइट टाइममा स्कोर निकाल्दा आफूहरूलाई केही दबाब परेको भन्दै सेकेण्ड हाफमा राम्रो गरेको प्रतिक्रिया दिए।‘मैले खेलाडीलाई सेकेण्ड हाफको १० मिनेटभित्र स्कोर गर्न सकेनौं भने फर्कन गाह्रो हुन्छ भनेको थिएँ, ११ मिनेटमा गोल निस्कियो, त्यसपछि गेम राम्रो भयो।’ उनले सुदूरपश्चिमाञ्चल फुटबल क्लबमा योङ प्लयेर भएकोले सेमिफाइनल गेम टफ हुने बताए।
सो खेलमा आर्मीका कप्तान सन्तोष नेपाली, राजीव गुरुङ र फुर्वा तामाङ तथा मनाङका शिव श्रेष्ठ र दीपक राईलाई फिफा रेफ्री सुदिश पाण्डेले एलोकार्ड देखाएका थिए।
हिमश्री फूड्स प्रालिको मुख्य प्रायोजनमा फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ टीमको सहभागिता रहेको छ। प्रतियोगितामा विजेता टीमलाई नगद तीन लाख एक हजार तथा उपविजता टीमलाई नगद दुई लाख एक हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। यस्तै उत्कृष्ट खेलाडीलाई टिभिएस मोटरसाइकल प्रदान गरिनेछ भने विधागत रूपमा उत्कृष्ट गोलकिपर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डर र फेयर प्ले टीमलाई जनही १० हजार तथा हाइस्कोररलाई नगद १५ हजार पुरस्कार प्रदान गरिनेछ।
बिहीबार तीनपटकको विजेता थ्रीस्टार क्लब र पाँचपटकको विजेता नेपाल पुलिस क्लबबीच पहिलो सेमिफाइनल खेल हुने प्रतियोगिता संयोजक हरिराम गुरुङले जानकारी दिए।हालसम्म पाँचपटक आमनेसामने भएका यी दुईमा पुलिसले चार तथा थ्रीस्टारले एक खेलमा जीत हात पारेको छ।
तस्विर सौजन्य ः उमेश पुन

Comment