एन्फा प्रेसिडेन्ट लिगमा धादिङ समाजको फराकिलो जित
एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा मङ्गलवार भएको पहिलो खेलमा प्रदेश नम्बर ३ को लिग च्याम्पियन धादिङ समाज धादिङले कर्णाली प्रदेशको लिग च्याम्पियन लेकाली युवा क्लब जुम्लालाई ९–१ ले पराजित गरेको छ ।
एन्फा प्रेसिडेन्ट लिगको दोस्रो खेलमा धादिङको तर्फको कप्तान अमिर श्रेष्ठले सर्वाधिक ४ गोल गरे । उनी खेलको म्यान अफ द म्याचबाट सम्मानित हुँदै नगद ५ हजार जित्न सफल भए । अमिरले खेलको १७, ३६, ६० र ६२ मिनेटमा गोल गरेका थिए । यसै गरी धादिङको तर्फबाट अन्य गोल शिशिर लेखिले ६४, ७९ र ८२ मिनेटमा गरी ३ गोल गरे भने उमेश राईले ८९ मिनेट र विपिन कँडेलले २४ मिनेटमा गोल गरेका थिए । लेकालीको तर्फबाट कप्तान सङ्गम शाहीले ५५ मिनेटमा १ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच अमिरलाई जावलाखेल यूथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्रीले पुरस्कृत गरे ।
यसै गरी अर्को खेलमा मङ्गलवारको दोस्रो खेल लुम्बिनी प्रदेशको च्याम्पियन धम्बोझी युवा क्लब र गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबबिचको खेल जारी रहेको छ ।
नेपालगन्जमा सोमबार देखी सुरु भएको एन्फा प्रेसिडेन्ट लिग–२०७७ प्रतियोगितामा ७ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
चैतको १५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदूर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन् ।
अखिल नेपाल फुटबल सङ्घले आयोजना गरेको पहिलो प्रतियोगिता हो एन्फा प्रेसिडेन्ट लिग । यस प्रतियोगिताको शीर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन् ।