पोखरामा नेपाल कप महिला आमन्त्रण फुटबल प्रतियोगिता हुने

पोखरा

आठौं सगरमाथा दिवसको अवसरमा पोखरामा नेपाल कप महिला आमन्त्रण फुटबल प्रतियोगिता हुने भएको छ। स्पोर्टस् फर अल क्लब, नेपालको आयोजनमा आगामी जेठ ६ गतेदेखि पोखरा रंगशालामा उक्त प्रतियोगिता हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
जेठ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामामा छिमेकी राष्ट्र भारत र नेपालका गरी १० टीमको सहभागिता रहने क्लबका अध्यक्ष लोकबहादुर शाहीले जानकारी दिए। प्रतियोगितामा भारत कोलकाताको महिला टीम टल्टला दिप्ति सङ्घ, दार्जिलिङ महिला टीम, मोरङ जिल्ला महिला टीम, सुनसरी जिल्ला महिला टिम, रौतहट जिल्ला महिला टिम, काठमाडौं जिल्ला महिला टीम, विभागीय त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ र पोखरा ११ महिला टीम गरी १० टीमको सहभागिता रहने भएको छ।
प्रतियोगितामा विजेताले उपाधिसहित एक लाख उपविजेताले ५० हजार प्राप्त गर्नेछ। कास्की जिल्ला महिला फुटबल सङ्घ, कास्की जिल्ला फुटबल सङ्घ, कास्की जिल्ला आईस हक्की सङ्घको समन्वयमा प्रतियोगिता हुने भएको छ। कास्की जिल्ला महिला फुटबल सङ्घका अध्यक्ष भक्ति गुरुङको संयोजकत्वमा २१ सदस्यीय मूल आयोजक समिति गठन भएको छ। सबै उमेर समूहका लागि खेलकुदका विभिन्न प्रतियोगिता तथा कार्यक्रम आयोजना गर्दै आउने क्रममा केन्द्रले यसअघि उक्त प्रतियोगिता जनकपुर, इलाम र काठमाडौंमा समेत आयोजना गरी सकेको छ। पर्यटकीय दृष्टिले अति राम्रो र खेलकुदको समेत बढी क्रेज पोखरामा भएको कारणले गर्दा यहाँ उक्त प्रतियोगिता आयोजना गर्न लागेको शाहीले बताए। प्रतियोगिता सम्पन्न गर्न १८ लाख खर्च लाग्ने संयोजक भक्ति गुरुङले बताइन्।

Comment