धनगढी एफसीलाई विश्व चर्चित दक्षिण कोरियाली कम्पनी कियाको साथ
नेपाल सुपर लिग (एनएसएल) क्लब धनगढी एफसीलाई मुख्य प्रायोजकको रूपमा चर्चित दक्षिण कोरियाली कम्पनी ‘किया’ले साथ दिएको छ ।
विश्व बजारकै चर्चित कार उत्पादन कम्पनीले धनगढी एफसीसँगको सम्झौतासँगै आफ्नो नयाँ लोगो पनि सार्वजनिक गरेको हो । धनगढीले बिहीबार किया नेपालसँग मुख्य प्रायोजनको सम्झौता समेत गरेको छ ।
धनगढी एफसीका सुवास शाही र किया नेपालका अनीश लामिछानेले सम्झौता आदान–प्रदान गरे ।
गो–ड्रिमर्सको स्वामित्वमा रहेको धनगढी एफसीका अध्यक्ष सुवास शाही लेकियाँसँग जोडिन पाउँदा खुसी व्यक्त गरे । उनले फुटबलमा बहुराष्ट्रिय कम्पनीको लगानी आउनु हर्षको कुरो भएको बताए ।
‘कियाजस्तो बहुराष्ट्रिय कम्पनी फुटबलमा आउनु धेरै राम्रो हो । यसले नेपाली फुटबलको विकास र प्रवर्द्धन गर्नेछ । कियाको संलग्नताले हाम्रो क्लबलाई मात्रै होइन, नेपाली फुटबललाई नै माथिल्लो स्तरमा पु¥याउन सहयोग गर्नेछ,’उनले भने, ‘हाललाई एक वर्षे सम्झौता गरेका छौँ । भविष्यमा दीर्घकालीन योजना सहित हामी एकसाथ अघि बढ्नेछौँ ।’
शाही नेपालमा फ्रेन्चाइज क्रिकेट भित्र्याउने पहिलो व्यक्ति हुन् । उनकै सक्रियतामा नेपालमा पहिलो पटक धनगढी प्रिमियर लिग (डीपीएल) मार्फत नेपालमा फ्रेन्चाइज प्रतियोगिताको थालनी भएको थियो । यस पटक उनले फुटबलमा लगानी गरेका छन् ।
सम्झौता पत्र आदान प्रदान गरेपश्चात् किया नेपालका सहायक महाप्रबन्धक अनीश लामिछानेले विश्वकै खेल जगतमा कियाले सहयोग गर्दै आएको र नेपाली फुटबलमा पनि लगानी गर्न पाउँदा खुसी व्यक्त गरे ।
सम्झौता कार्यक्रममा धनगढीका आइकोनिक खेलाडी किरण चेन्जोङ र मार्की खेलाडी विशाल राई पनि उपस्थित थिए ।
कियाको नयाँ लोगो पनि धनगढी एफसीबाटै सार्वजनिक गरेको छ । कम्पनीको लोगो सहितको जर्सी दुवै खेलाडीले पहिरिएका थिए । किया विश्वकप फुटबल २०१४ र २०१८ को पनि प्रायोजक थियो ।
धनगढीले चेम्जोङ र राई सहित अफ्रिकी मूलका दुई र स्थानीय दुई खेलाडी भित्र्याएको छ । शनिवारबाट सुरु हुने प्रतियोगितामा धनगढीले विराटनगर सिटी फुटबल क्लब विरुद्ध आइतबार प्रतिस्पर्धा गर्दै एनएसएलको यात्रा थाल्नेछ ।