प्रदेश तेक्वान्दोको दरिलो पाइला
नेपाली खेलकुदमै विशिष्ट भूमिका रहेको बाग्मती प्रदेश तेक्वान्दो सङ्घले थप उत्साहका साथ नयाँ कार्यकालको सुरुवात गर्दै छ । गत साता काभ्रेपलान्चोकको धुलिखेलमा सम्पन्न प्रथम साधारण सभाले तदर्थ कमिटीका अध्यक्ष केशव पुरीकै अध्यक्षतालाई निरन्तरता दिएको छ । कमिटीको उपाध्यक्षमा सांसद बिराज भक्त श्रेष्ठका , प्रकाश खड्गी, दीपक मलहोत्रा र सुमन विक्रम पाण्डे छन् । खड्गी अध्यापन पेसामा संलग्न छन् भने मलहोत्रा र पाण्डे नेपालका विख्यात व्यवसायी हुन् । सो अधिवेशनले महासचिवमा हरिहर ढुङ्गाना, सचिवमा उमेश नकर्मी तथा कोशाध्यक्षमा किरण थापालाई चयन गरेको छ ।
साधारण सभाको प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले उद्घाटन गरे । यसै गरी, सो कार्यक्रममा नागार्जुन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेत विशिष्ट अतिथि भए । सो कार्यक्रममा नागार्जुन नगरपालिका वडा नं ६ अका अध्यक्ष राजेन्द्र बुढाथोकीको पनि उपस्थिति थियो ।
कार्यक्रममा नेपाली तेक्वान्दोमा महत्त्वपूर्ण योगदान गरे बापत मुख्य प्रशिक्षक नवीन कुमार श्रेष्ठ सहित १३ औ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक विजेता आयशा शाक्य, काजल श्रेष्ठ, सक्षम कार्की, सञ्चिता तिमल्सीना, सङ्गीता बस्याल, पार्वती गुरुङ र निशा दर्नाललाई सम्मान गरियो ।
तेक्वान्दोको विकासमा सहयोग गरे बापत मुख्य अतिथि विशिष्ट अतिथि बस्नेत सहित राजेन्द्र बुढाथोकी, पारा ओलम्पिकका सहभागी खेलाडी पलेसा गोवर्द्धन, प्रशिक्षक कविराज नेगी र व्यवस्थापक दीपक विष्ट पनि सम्मानित भए । कार्यक्रमको समानको विशिष्ट अतिथि तेक्वान्दो सङ्घका सदस्य राम गिरि थिए । कार्यक्रममा तेक्वान्दो सङ्घका महासचिव दापराज गुरुङको अभिनन्दन गरिएको थियो । सङ्घका उपाध्यक्ष सञ्जीव रेग्मी र नन्दु राई को साथै सदस्य मणि राज विशिष्टको पनि उपस्थिति थियो ।
उत्कृष्ट काम गरे बापत चितवन जिल्ला कार्य समिति, भौतिक संरचना निर्माणमा उत्कृष्ट मकवानपुर तथा ग्रेडिङ व्यवस्थित गर्ने काठमाडौँ जिल्ला कार्य समितिलाई पनि पुरस्कृत गरियो । अन्य सबै जिल्ला अध्यक्ष पनि सम्मानित भए । नुवाकोटमा तेक्वान्दोको सुरुवाती दिनमै गरेको योगदानको कदर गर्दै धननारायण चित्रकारलाई पनि सम्मान गरियो । मकवानपुर उप महानगरपालिकाका मेयर हरिबोल महत तथा काठमाडौँ महानगरपालिकाका उपमेयर हरि प्रभा खड्गीलाई सम्मान गरियो । सोही कार्यक्रममा अमेरिकामा बसेर पनि नेपाली तेक्वान्दोमा सहयोग गरेका यज्ञलाल श्रेष्ठलाई पनि सम्मान गरियो ।
सोही साधारण सभाले २१ बुँदे चार वर्षे कार्य योजना पनि सार्वजनिक गरेको छ ।
बाग्मती प्रदेशको आफ्नै प्रशिक्षण हल तथा कार्यालय भवन निर्माण,प्रत्येक जिल्लालाई म्याट तथा आवश्यक सामग्री उपलब्ध गराउने लगायत छन् । बाग्मती प्रदेशका अध्यक्ष पुरीले खेलकुद न्युजडटसंगको कुराकानीमा केन्द्रीय सङ्घसँगको समन्वयमा प्रधानमन्त्री अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने तथा विभिन्न मुलुकमा रहेका तेक्वान्दो खेलाडीहरूसँग समन्वय गर्नका लागि प्रत्येक देशमा प्रतिनिधि राख्ने व्यवस्था गर्ने लगायत योजना भएको बताए ।