सञ्जीव सम्मानित

तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी एवं प्रशिक्षक सञ्जीव नेपाली सम्मानित भएका छन् । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा लगातार पदक जित्दै आएका सञ्जीवलाई आइतबार तारकेश्वर नगरपालिकाले सम्मान गरेको हो ।
तेक्वान्दोको विकास र विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै तारकेश्वर नगरपालिकाले प्रसंशापत्रबाट सम्मान गरेको हो । तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहराले ‘तेक्वान्दो खेलमार्फत देशको प्रतिष्ठालाई उच्च राख्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको’ भन्दै उनलाई सम्मान गरेका हुन् ।
बाराको निजगढका सञ्जीव तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक एवं निर्णायक पनि हुन् । उनले तेक्वान्दोकै माध्यमबाट विश्वका विभिन्न देशमा पुगेर राष्ट्रको झन्डा फहराउने काम गरेका छन् । उनले हङकङ, थाइल्यान्ड, इङ्गल्यान्ड, स्पेन, जापान, क्यानडा, अमेरिकालगायतका मुलुकमा भएका प्रतियोगितामा सहभागी हुँदै पदक पनि जितेका छन् ।
Comment