लाओससँगको जित सँगै नेपाल दोस्रो चरणमा

मनिष डाँगीको गोलमा लाओसलाई १–० ले पराजित गर्दै नेपाल फिफा विश्वकप २०२६ को एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

यी दुई बिच काठमाडौँमा भएको पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको थियो । नेपालले छनोटको दोस्रो चरणमा समूह जी मा युएई, बहराइन र यमनसँग होम एन्ड अवे गरेर ६ खेल खेल्ने छ । यसअघि नै भएको दोस्रो चरणको ड्र मा यस समूहमा युएई र बहराइन थिए । यमन भने पहिलो चरणमा श्रीलङ्कालाई समग्रमा ४–१ ले पराजित गर्दै दोस्रो चरणमा पुगेको हो ।

लाओसको भिएनतिएनेस्थित न्यु लाओस नेशनल स्टेडियममा मंगलबार भएको खेलमा नेपालका लागि मनिषले ५२ औ मिनेटमा अञ्जन विष्टको पासमा सिक्स यार्ड बक्सबाट वान टचमा गोल गरेका थिए ।

विश्वकप छनोटको दोस्रो चरणमा एसियाका शीर्ष २६ वरीयतामा रहेका टोलीसँगै पहिलो चरण पार गरेका १० गरी कूल ३६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टिमलाई ९ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा चार टोली छन् । जसमा हरेकले एक अर्कासँग होम एन्ड अवेका आधारमा दुई–दुई खेल खेल्नेछन् ।

दोस्रो चरणमा नेपालको भेट युएई, बहराइन र यमन हुनेछ । तीन वटै टोलीसँग नेपालले होम एन्ड अवेका आधारमा दुई दुई खेल खेल्नेछ ।

नेपालले युएईसँग अहिलेसम्म जम्मा एक खेल खेलेकोमा पराजित भएको छ भने बहराइन विरुद्ध अहिलेसम्म खेलेको छैन । यमन विरुद्ध ४ खेल खेल्दा नेपाल जितविहीन छ । यमनले तीन खेलमा नेपाललाई हराउँदा एक खेल बराबरीमा सकिएको थियो ।

दोस्रो चरणको खेलहरू नोभेम्बरदेखि नै सुरु हुनेछ र २०२४ को जुनसम्म सञ्चालन हुनेछ । अब नेपालले अर्को ८ महिना छनोट अन्तर्गत अन्तर्राष्ट्रिय फुटबल खेल्न पाउनेछ । त्यसको तयारी स्वरूप केही मैत्रीपूर्ण खेलसमेत आयोजना हुने छन् ।

Comment