पोखरामा यु–१५ विद्यालय खेलकुद सुरु

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद्, गण्डकीको संयुक्त रूपमा पहिलो पटक यु–१५ विद्यालय खेलकुद प्रतियोगिता बुधवारदेखि पोखरामा सुरु भएको छ ।

प्रतियोगिताको पोखरा रंगशालस्थित बहुउद्देश्यीय कभर्ड हलमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले औपचारिक उद्घाटन भएको घोषणा गरे ।

मुख्यमन्त्री पाण्डेले सातै प्रदेशका खेलाडीलाई पोखरामा स्वागत गर्दै सबैलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए ।

यस्तै गण्डकी प्रदेशका पूर्व मुख्य मन्त्री खगराज अधिकारी, प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य–सचिव श्रीधर शर्माले यु–१५ प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै यसबाट भविष्यमा राम्रो खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे ।

प्रतियोगिताको पहिलो संस्करणमा एथलेटिक्स, बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस, रग्बी र चेस गरी ६ खेलमा प्रतिस्पर्धा हुनेछ । ६ वटै खेलको छात्र र छात्र दुवैमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा सात प्रदेशबाट ७६–७६ गरी कूल ५ सय ३२ खेलाडी सहभागी छन् । जम्मा ३० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । एथलेटिक्समा छात्र र छा दुवैको १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० सय मिटर, सट पुट, लङ जम्प र ४ गुणा १०० मिटर रिले गरी कूल १४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । ब्याडमिन्टन र टेबल टेनिसमा पुरुष एकल, पुरुष डबल्स, महिला एकल, महिला डबल्स र मिक्स डबल्स गरी पाँच–पाँच इभेन्टमा प्रतिस्पर्धा हुनेछ । ब्याडमिन्टन र टेबल टेनिसमा समान ५ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । बास्केटबल र रग्बीमा छात्र र छात्रामा २–२ स्वर्णका लागि खेल हुनेछ । यस्तै बुद्धिचालमा छात्र÷छात्राको टिम इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताअन्तर्गत बुद्धिचाल बाहेक सबै खेलहरू पोखरा रङ्गशालामा हुनेछ । बुद्धिचाल लेक साइडमा सञ्चालन भइरहेको छ । ब्याडमिन्टनको स्पर्धाहरू मङ्गलवारदेखि नै पोखरा रंगशालको ब्याडमिन्टन कभर्ड हलमा भइरहेको छ ।

अनुज र सरितालाई स्वर्ण

मधेस प्रदेशका अनुजकुमार साह र कर्णाली प्रदेशकी सरिता शाहीले यु–१५ विद्यालय खेलकुदको एथलेटिक्समा बुधवार स्वर्ण जितेका छन् । लङ जम्पको छात्रमा अनुज र छात्रामा सरिताले स्वर्ण जितेका हुन् ।

पोखरा रङ्गशालामा अनुजले ६.११ मिटर जम्प गरे । सुदूरपश्चिम प्रदेशका वरुण दत्त रानाले रजत तथा लुम्बिनी प्रदेशका श्लोक हरिजनले कांस्य जिते । सरिताले ४.६१ मिटर जम्प गरिन् । कोसी प्रदेशकी निकिता एक्तेल लिम्बू दोस्रो तथा गण्डकी प्रदेशकी सुजना कुमाल तेस्रो भए ।

राष्ट्रिय खेलकुद परिषद् तथा प्रदेश खेलकुद परिषद्, गण्डकीद्वारा संयुक्त आयोजित प्रतियोगिताको छात्र ४ सय मिटर दौडमा सुदूरपश्चिमका वरुण दत्त राना पहिलो भए । उनले निर्धारित दूरी ५८.६२ सेकेन्डमा पूरा गरे । मधेसका दीपेश साह दोस्रो तथा लुम्बिनीका सुशान्त थारु तेस्रो भए । सो स्पर्धाको छात्रामा कर्णालीकी कृष्णा रानाले स्वर्ण चुमिन् । कृष्णाले निर्धारित दूरी तय गर्न १ मिनेट ०४.२९ सेकेन्ड समय खर्चिन् । बागमती प्रदेशकी भगवती खड्काले रजत तथा लुम्बिनीकी कमला वलीले कांस्य हात पारे ।

छात्र १ सय मिटर दौडमा लुम्बिनीका शुभन बमरेल पहिलो भए । आफ्ना प्रतिद्वन्द्वीलाई उछिन्ने क्रममा शुभनले ११.४६ सेकेन्ड समय निकाले । मधेसका अर्जुन शाह दोस्रो तथा कोशिका राजन वान्तवा राई तेस्रो स्थानमा रहे । उक्त स्पर्धाको छात्रामा गण्डकीकी एन्जल अधिकारी शीर्ष स्थानमा रहिन् । एन्जल निर्धारित दूरी १३.५६ सेकेन्डमा पूरा गरिन् । लुम्बिनीकी आरुषी भट्टराईले रजत तथा बागमतीकी मुस्कान चौधरीले कांस्य जिते ।

एथलेटिक्सको पहिलो दिन ६ स्वर्णको टुङ्गो लाग्दा ५ प्रदेशले स्वर्ण जितेका छन् । कर्णालीले २ तथा मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमले समान १–१ स्वर्ण जितेका छन् । जम्मा १४ स्पर्धा समावेश एथलेटिक्सको बाँकी ८ स्पर्धाको फाइनल प्रतियोगिताको अन्तिम दिन बिहीबार हुनेछ । सातै प्रदेशबाट ७६ खेलाडी सहभागी छन् ।

जयस्नु र सुरम्यलाई दोहोरो स्वर्ण

बागमती प्रदेशका जयस्नु महर्जनले यु–१५ विद्यालय खेलकुदको टेबल टेनिसमा बुधवार दोहोरो स्वर्ण जितेका छन् । दुवैले डबल्स स्पर्धामा स्वर्ण जिते ।

पोखरा रङ्गशालास्थित कभर्डहलमा भएको ब्वाइज डबल्स फाइनलमा जयस्नु र आर्यन शाहीको जोडीले बागमतीका रिजन शाक्य र एरिश शाक्यको जोडीलाई ११–९, ११–५, १०–१२ र ११–८ को सेटमा पराजित गरे । लुम्बिनीका सुविन क्षेत्री र सुविन थापा तथा गण्डकीका दीप निशान शाही र स्वर्णिम तिम्सिनाको जोडी तेस्रो भए ।

गल्र्स डबल्सको उपाधि भिडन्तमा सुरम्यले नर्मदा खाइतुको जोडीसँग मिलेर बागमतीकै प्राज्ना महर्जन र आस्मा महर्जनको जोडीलाई ११–७, ११–६, ८–११ र ११–८ को सेटमा हराए । लुम्बिनीका सचिना पुरी र राशि बराल तथा गण्डकीका राजश्री अधिकारी र सक्रिय पोखरेलको जोडी तेस्रो बने ।

मिक्स डबल्सको फाइनलमा जयस्नु र सुरम्यको जोडीले बागमतीका रिजन शाक्य र नर्मदा खाइतुको जोडीलाई ८–११, ११–५, ९–११ र ११–८ र ११–७ को सेटमा पाखा लगाए । कोशिका गौतम तामाङ र सुलेखाकुमारी ठाकुर तथा लुम्बिनीका सुविन क्षेत्री र सचिना पुरीको जोडी तेस्रो स्थानमा रहे ।

सातै प्रदेशबाट समान २८–२८ ब्वाइज÷गल्र्स गरी ५६ खेलाडी सहभागी छन् । टेबल टेनिसमा ५ स्वर्णका प्रतिस्पर्धा भइरहेको छ । बाँकी २ स्पर्धा ब्वाइज÷गल्र्सको सिंगल्स फाइनल बिहीबार हुनेछ ।

बुद्धिचाल, रग्बी र बास्केटबल जारी

यु–१५ राष्ट्रिय चेस च्याम्पियनसिपका दुवै स्पर्धामा लुम्बिनीको अग्रता कायम छ । खुला समूहमा लुम्बिनीको म्याच प्वाइन्ट ६ छ  यसै गरी, बाग्मतीको ४ अङ्क छ । सुदूर पश्चिम तेस्रो स्थानमा छ । 

यसै गरी छात्रा समूहमा पनि लुम्बिनीले ६ म्याच प्वाइन्ट पाएको छ । सुदूर पश्चिम र बाग्मतीको पनि ६ अङ्क भए पनि गेम प्वाइन्टको आधारमा लुम्बिनी पहिलो, सुदूर पश्चिम दोस्रो तथा बाग्मती तेस्रो स्थानमा रहेका हुन् ।

ब्याडमिन्टनको सिंगल्सतर्फ ब्वाइजमा गण्डकीका सफल भुजेल र सुविन श्रेष्ठ, गल्र्समा कोसीकी निभा राई र बागमतीकी रिहाना शेरचन तथा मिक्स डबल्समा कोशिका सन्दीप राई र निभा राई तथा गण्डकीका दिलासा राणा र सफल भुजेलको जोडी फाइनलमा पुगे ।रग्बीमा पुरुष÷महिलामा समूह चरणका १३ खेल सम्पन्न भएका छन् । बास्केटबलमा लिग चरणका ६ सकिएको छ ।

Comment