दुई अलराउण्डर जमेको खेलमा इङ्गल्यान्डको जीत

लियाम लिभिङस्टोनले आफ्नो ५० औ टी २० अन्तर्राष्ट्रिय खेललाई यादगार  बनाउँदै ब्याटिङ गरे पछि इङ्गल्यान्डले अस्ट्रेलियाविरुद्धको दोस्रो टी २० क्रिकेटमा ३ विकेटको जित हात पारेको छ । शुक्रवार राती कार्डिफको घरेलु क्रिकेट मैदानमा भएको खेलमा इङ्गल्यान्डले १९४ रनको लक्ष्य ७ विकेटको क्षतीमा १ ओभर बाँकी रहँदा पुरा गरेको हो । इङ्गल्यान्डका लागि लिभिङस्टोनले ४७ बलमा ८७ रन प्रहार गरे । 

अस्ट्रेलियाका अलराउण्डर मयाथ्यु सर्टले ३ ओभरमा २२ रन खर्चेर ५ विकेट लिए पनि त्यो टोलीलाई जित दिलाउनका लागि पर्याप्त थिएन । उनले १९ औ ओभरको चौथो बलमा लिभिङस्टोन तथा त्यस पछिको बलमा ब्राइडन कर्सलाई आउट गरे पनि त्यो धेरै ढिला भइसकेको थियो । सो समयमा घरेलु टोलीलाई जीतका लागि १ रन मात्र आवश्यक थियो । 

लिभिङस्टोनलाई पहिलो खेल खेली रहेको ज्याकोब बेथलले राम्रो साथ दिए । सुरुवातमा धरमराएर ३४ रनमा दोस्रो तथा ७९ रनमा तेस्रो विकेट गुमाएको इङ्गल्यान्डका बेथल र लिभिङ स्टोन मिलेर चौथो विकेटका लागि ५७ बलमा ९० रनको साझेदारी गरेका थिए । बेथलले २४ बलमा ४४ रन जोडे । उनीहरूको यसै साझेदारीसँगै इङ्गल्यान्डले तीन खेलको शृङ्खला जित्ने सम्भावना कायम नै राखेको छ । पहिलो खेलमा अस्ट्रेलिया विजयी भएको थियो । तेस्रो टी २० आइतबार हुने छ । 

टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ६ विकेटको क्षतीमा १९३ रनको योगफल खडा गरेको थियो । अस्ट्रेलियाको यो सफलतामा ज्याक फ्रेजर म्याकगुरुकको पहिलो अन्तर्राष्ट्रिय टी २० अर्धसत्तक तथा जोस इङ्गलीसको ४२ रनको महत्त्वपूर्ण योगदान रहेको थियो । अस्ट्रेलियाको टोलीमा डेभिड वार्नर हटे पछि ट्रेभिस हेडको उपयुक्त ओपनर साझेदारको खोजी गर्ने अस्ट्रेलियाको नीति अन्तरगत यो नयाँ प्रयोग समेत थियो । पहिलो टी २० मा पनि सफल सर्टलाई फेरीको पारीको सुरुवात गर्ने अवसर दिँदै म्याकगुरुकलाई तेस्रो क्रममा ब्याटिङ गर्न लगाइएको थियो । सो भूमिकामा पनि आफूलाई सही पुष्टि गर्दै ३१ बलमा ५० रनको योगदान गरे । यस अघि स्कटल्यान्डमा भएको शृङ्खलामा ०, १६  र फेरी ० मा आउट भए पछि जारी शृङ्खलाको पहिलो खेलमा आराम गर्ने मौका दिइएको थियो । 

सर्टले फेरी शानदार सुरुवात गर्ने क्रममा रिस टप्लीको पहिलो ओभरमा १ छक्का र २ चौका प्रहार गरेका थिए । अस्ट्रेलियाले पावर प्लेमा १ विकेट गुमाउँदै ६७ रन जोडेका थियो । सर्टले २८ रन जोडे भने हेडले १४ बलमा ३१ रन प्रहार गरे । तल्लो क्रममा ब्याट्सम्यान एरोन हार्डीले ९ बलमा २० रन जोडे । इङ्गल्यान्डलाई जित दिलाउने क्रममा लिभिङस्टोनलाई बलिङमा समेत सफल भए । उनले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । उनी निर्विवाद म्यान अफ द म्याच घोषित भए । 

Comment