सुजेन्द्र स्मिृती भेट्रान चेस सुरु

अखिल नेपाल बुद्धिचाल सङ्घको आयोजनामा प्रथम एफएम सुजेन्द्र प्रसाद श्रेष्ठ स्मृति राष्ट्रिय भेट्रान चेस च्याम्पियनसिप बुधवार सुरु भयो । प्रतियोगिताको प्रमुख अतिथि  नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ल उद्घाटन गरे । कार्यक्रममा अखिल नेपाल खेलकुद महासङ्घका अध्यक्ष तथा राखेपका पूर्व उपाध्यक्ष शिव कोइराला ज्वाला, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्क लाल घिसिङ, राखेपका पूर्व सदस्य सचिव युवराज लामा र समाजसेवी सावित्री अधिकारीको पनि उपस्थिति थियो । अखिल नेपाल खेलकुद महासङ्घका उपाध्यक्ष तथा नेपाल उसु सङ्घका महासचिव नवराज ढुङ्गानाका साथमा नेपाल बुद्धिचाल सङ्घका सचिव मोनालिसा खुम्बुको उपस्थिति थियो । नेपाल बुद्धिचाल सङ्घका वरिष्ठ उपाध्यक्ष तथा अखिल नेपाल बुद्धिचाल सङ्घका संयोजक दिपेन राईको सभापतित्वमा कार्यक्रम भएको थियो । कार्यक्रमको सञ्चालन आयोजक कमिटीका सदस्य तथा नेपाल बुद्धिचाल सङ्घका सदस्य बबी देवल पुनले गरेका थिए । प्रतियोगिताको मुख्य निर्णायक अन्तर्राष्ट्रिय आर्बीटर ज्ञानेन्द्र खाइजु छन् ।  

स्विस लिग प्रणालीमा २ दिन सञ्चालन हुने प्रतियोगितामा ४२ जनाको सहभागिता छन् । प्रतियोगितामा पूर्व राष्ट्रिय च्याम्पियन बद्री लाल नेपाली, नवीन तुण्डकार र पुण्यमान कर्माचार्य पनि सहभागी छन् ।  

प्रादेशिक छनोटमा सफलता पाउने खेलाडीको राष्ट्रिय च्याम्पियनसिपमा सहभागिता छ । एफएम सुजेन्द्र प्रसाद श्रेष्ठ  नेपाल बुद्धिचाल सङ्घका पूर्व उपाध्यक्ष हुन् । उनकै प्रयासमा नेपालमा पहिलो पटक फिडे रेटिङ प्रतियोगिता भएको थियो । नेपालको पायनियर चेस क्लब मखन चेस क्लबको विकासमा ठुलो भूमिका रहेका श्रेष्ठ ओलम्पियाड खेलाडी समेत हुन् । 

नेपाली चेसलाई नयाँ स्वरूप र संरचनामा परिणत गर्ने सोच भएका उनकै पहलमा मखनमा चेस एकेडेमी पनि सञ्चालन भएको थियो । सोही एकेडेमीमा प्रशिक्षण गरेकी तारा घले नेपालको पूर्व महिला राष्ट्रिय च्याम्पियन समेत हुन् । नेपालमा भएको पहिलो राष्ट्रिय टिम च्याम्पियनसिपमा सुजेन्द्र सहितको मखन चेस क्लब पहिलो भएको थियो भने उनी आफ्नो बोर्डका उत्कृष्ट खेलाडी घोषित भएका थिए । सुजेन्द्रको गत वर्ष निधन भएको हो । 

३ चरणको समाप्तिमा विलम लाल श्रेष्ठ, पुण्यमान कर्माचार्य र पूर्ण राज खड्काले शतप्रतिशत अङ्क जोडेका छन् । 

Comment