‘पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसे ढुङ्गा साबित हुनेछ,’ अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथीभरा केवल कार कोसे ढुङ्गा साबित हुने बताएका छन् । ताप्लेजुङ सरोकार केन्द्रले शुक्रवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । 

उनले ताप्लेजुङको पाथीभरामा निर्माण हुने केबलकारले ताप्लेजुङ मात्र नभई समग्र कोसी प्रदेश तथा मुलुककै विकास र समृद्धिमा सहयोग पुग्ने बताउँदै यस आयोजनालाई समयमै सम्पन्न गर्न आवश्यक सहयोग गर्न सम्पूर्ण सरोकारवालालाई आग्रहसमेत गरे । उनले पाथीभरा केबलकारमा स्थानीयहरूलाई शतप्रतिशत रोजगारी दिन आफूहरू सकारात्मक रहेको बताए ।

सङ्घर्ष समितिले ८० प्रतिशत स्थानीयलाई रोजगारीको ग्यारेन्टी माग गरे पनि केबलकारले रोजगारीमा स्थानीयलाई शत प्रतिशत प्राथमिकता दिने उनले बताए । उनले सरकार र निजी क्षेत्रले अर्बौँ रुपैयाँ खर्च गरेर वैदेशिक लगानी भित्र्याउनका लागि काम गरी रहेको अवस्थामा मुलुकभित्रकै निजी क्षेत्रले लगानी गर्ने नसक्ने वातावरण बनाउने काम गलत हुने बताए । 

उनले स्वदेशी लगानी पहिलो प्राथमिकतामा राख्न सके मात्रै पर्यटन प्रवर्द्धनसँगै आर्थिक विकास हुने धारणा राखे । उनले पाथीभरामा केबलकार निर्माण आफ्नो व्यक्तिगत फाइदाको लागि भन्दा पनि समग्र ताप्लेजुङ र मुलुकको पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनाको लागि काम गरिरहेको बताए । उनले स्थानीयहरूलाई केबलकारले दिने सेवा सुविधा सबै दिन तयार रहेको बताए । 

उनले एक ठाउँमा मात्रै नभएर सातै प्रदेशमा केवल कार निर्माण गरी मुलुकको पर्यटनको विकास रोजगारी सिर्जना गर्ने अभियानमा रहेको बताए । उनले पाथीभरा केबलकार निर्माणको लागि सबै प्रक्रिया पूरा भएको बताउनुभयो । उहाँले केबलकार निर्माण गर्ने काम सुरु भएको १५ महिना भित्र सम्पन्न गर्ने तयारी रहेको बताए । उहाँले पाथीभरा केबलकार  आयोजना आइएमई ग्रुप र चन्द्र ढकालको मात्रै नभएर पाथीभरा, ताप्लेजुङ ,कोसी प्रदेश र देशको पनि आयोजना भएकाले सबैको साथ सहयोगको अपेक्षा गरेको बताए । 

उहाँले पर्यटन पूर्वाधार निर्माण भयो भने मात्रै रोजगारी सिर्जना, व्यवसायीक गतिविधि र राजश्व वृद्धि हुने भन्दै पाथीभरा केबलकार बनाउन सुरुवात गरेको बताए । 

Comment