झापा लिगको शीर्ष स्थानमा

jhapa
झापा–११ रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगिताको शीर्षस्थानमा उक्लिएको छ ।
आइतबार झापाको घरेलु मैदान डोमालाल राजवंशी खेल मैदानमा भएको खेलमा झापाले मनाङमाथि १–० को कठिन जित निकाल्दै १३ अंकसहित लिगको शीर्षस्थानमा उक्लिएको हो । झापाका लागि खेलको ८१ औं मिनेटमा गणेश खड्काले गरेको गोल नै निर्णायक बन्यो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । अधिकांश समय बलमा नियन्त्रण लिएपनि गोल गर्न नसक्दा मनाङले झापामाथि घुँडा टेक्न बाध्य बन्यो । खेलको ६५ औं मिनेटमा झापाका कर्ण लिम्वुले गोल गरेपनि उसको गोल अफसाइड हुँदा झापाले अग्रता लिने मौका गुमाएको थियो ।
यस्तै आइतबारै सम्पन्न अर्काे खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएका छन् । बुटवलमा सम्पन्न खेलमा घरेलु टोली लुम्विनी फुटबल क्लबमाथि एपीएफले ३–२ को संघर्षपुर्ण जित निकाल्यो । एपीएफले १९ मिनेट भित्र नै ३–० को अग्रता बनाएको थियो । खेल शुरु भएको दोस्रो मिनेटमा नै हेमन गुरुङले गोल गर्दै एपीएफलाई शुरुवाती अग्रता दिलाए । यस्तै खेलको नवौं मिनेटमा नै नवीन लामाले गोल गर्दै अग्रता दोब्बर पा¥यो । घरेलु टोलीमाथि एकपछि अर्काे आक्रमण बुनेको एपीएफका लागि खेलको १९ मिनेटमा ३–० को अग्रता बनायो । तीन गोलले पछि परेको घरेलु टोली लुम्विनीका लागि पुकार गहत राजले खेलको ५४ औं मिनेटमा गोल गर्दै गोलअन्तर कम गरे । यस्तै ६५ औं मिनेटमा मनोज गुरुङले गोल गर्दै खेलमा फर्काउने संकेत देखाए । तर, त्यो ढिला भइसकेको थियो । पहिलो हाफमा नै तीन गोल खानु घरेलु टोली लुम्विनीका लागि  पराजित हुनुको मुख्य कारण बन्यो ।
यस्तै धनगढीमा सम्पन्न अर्काे खेलमा अर्काे विभागीय त्रिधुवन आर्मीक्लब बराबरीमा रोकिएको छ । घरेलु टोली सुदुरपश्चिमाञ्चल फुटबल क्लब(कैलाली)ले बलियो त्रिभुवन आर्मी क्लबलाई एक–एक गोलको बराबरीमा रोकिएको हो । कैलालीले बलियो आर्मीमाथि एक अंक खोस्न सफल भएको छ ।
खेल सुरु भएको चौथो मिनेटमा नै आर्मीका टेक बहादुर बुढाथोकीले गोल गर्दै पाहुना टोली आर्मीले सुरुवाती अग्रता बनायो । आर्मीमाथि निकै नै राम्रो खेल पस्केको कैलालीले खेलको ४२ औं मिनेटमा बराबरी गोल फर्कायो । घरेलु टोलीका लागि विदेशी खेलाडी लावलले गोल गरेका थिए । त्यसपछि दुवै टोलीले गोल गर्ने अवसरहरु सिर्जना गरेपनि अवसरहरुलाई गोलमा परिणत गर्न नसक्दा खेल बराबरीमा सकियो ।
जितपछि झापा ६ खेलबाट १३ अंकसहित लिगको शीर्षस्थानमा उक्लिएको छ । समान खेलबाटै ११ अंक जोडेको मनाङ दोस्रो स्थानमा झरेको छ । समान ११ जोडेको एपीएफ गोल अन्तरमा तेस्रो स्थानमा छ ।

Comment