नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता
श्रमिक गन्तव्यको रूपमा मात्रै नभई कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर पनि खोजिरहेको बताएका छन् । नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैङ्क वित्तीय संस्था सम्बद्ध सेवाहरू, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा कतारका लगानीकर्ताहरूको रुचि देखिएको छ । ’यहाँका लगानीकर्ता नेपालमा लगानीको अवसर खोजिरहेका छन,’ कतार चेम्बर अफ कमर्सका अध्यक्ष खालिफा बिन जसिम बिन मोहम्मद अल थानीले भने, ‘ हामी थप लगानीकर्ताहरूलाई पनि प्रोत्साहित गर्नेछौ ।’
नेपाल कतार बिजनेस काउन्सिलको पहिलो अध्यक्ष स्तरीय बैठकमा अध्यक्ष थानी र महासङ्घ अध्यक्ष चन्द्र प्रसाद ढकाल एवं प्रतिनिधिमण्डलबिच बुधवार कतारको राजधानी दोहामा सम्पन्न बैठकमा आर्थिक सम्बन्ध विस्तारका विषयमा छलफल भएको हो ।
कतारका अमिर सेख तमीम बिन हमाद अल थानीको २३ र २४ अप्रिलमा सम्पन्न नेपाल भ्रमणका क्रममा महासङ्घ र कतार चेम्बर बिच बिजनेस काउन्सिल स्थापना गर्ने सहमतिमा हस्ताक्षर भएको थियो ।
काउन्सिलको यस पहिलो अध्यक्ष स्तरीय बैठकमा अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष थानीले आआफ्नो नेतृत्वमा सदस्य नियुक्त गरी काउन्सिललाई छिट्टै पूर्णता दिने सहमति पनि भएको छ । त्यस लगत्तै नेपालमा कतार नेपाल बिजनेस सम्मेलन आयोजना गर्ने प्रस्ताव अध्यक्ष ढकालले राख्नुभयो । आगामी वर्ष उक्त कार्यक्रम आयोजना गर्ने सहमति पनि बैठकमा भयो ।
बैठकमा अध्यक्ष ढकालले नेपालमा बाह्य क्षेत्र स्थायित्व रहेको र कानुनहरूमा गरिएको सुधारले लगानीको अवसर जुट्दै गएको बताए । साथै उनले कतारका लगानीकर्ताहरूलाई नेपालमा जलविद्युत, पर्यटन, सूचना प्रविधि, सीप विकास लगायतका क्षेत्रमा पर्याप्त सम्भावना रहेकोले लगानीका लागि आव्हान गरे । कतार सरकारले आयोजना गरेको एसियन को अपरेसन डायलगमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै अध्यक्ष ढकालले सहभागिता पनि जनाए ।