एसिया रग्बी सेभेन्समा फिलिपिन्सलाई दोहोरो उपाधि


चाइनिज ताईपेईलाई पराजित गर्दै फिलिपिन्सले एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी– २०२४ को पुरूषतर्फको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको फाइनलमा चाइनिज ताइपेईलाई २७–१४ को स्कोरले पराजित गर्दै उपाधि हात पारेको हो । खेलको सुरूआतदेखि नै चाइनिज ताइपेईलाई फिलिपिन्सले दबाबमा राख्न सफल भएको थियो । उक्त दबाब अन्तिमसम्म कायम राख्दै फिलिपिन्स विजेता बन्यो ।
यसैगरि भारतलाई पराजित गर्दै फिलिपिन्सले एसिया रग्बी इमिरेट्स–२०२४ को महिलातर्फको उपाधि जितेको छ । भारतलाई ७–५ को स्कोरले पराजित गर्दै फिलिपिन्सले उपाधि हात पारेको हो ।
इन्डोनेसियालाई पराजित गर्दै गुआमले भने एसिया रग्बी इमिरेट्स–२०२४ मा तेस्रो स्थान हात पारेको छ । गुआमले इन्डोनेसियालाई २२–१९ ले पराजित गरेको हो । इन्डोनेसियाले सुरूआतीदेखि नै गुआमसँग प्रतिस्पर्धात्मक खेल पस्किएको थियो ।
सेमिफाइनलमा फिलिपिन्ससँग इन्डोनेसिया १९–१० ले पराजित भएको थियोे । गुआम भने भारतसँग २४–७ ले पराजित हुन पुग्यो ।
‘च्यालेन्ज थर्ड’ मा नेपाल पराजित
नेपालको पुरूष टोली एसिया रग्बी इमिरेट्स–२०२४ ‘च्यालेन्ज थर्ड’ मा पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा अफगानिस्तानसँग नेपाल २२–५ को स्कोरमा पराजित भएको हो ।
एक समय नेपालले खेलमा पुनरागमन गरिसकेको थियो । त्यतिखेर नेपाल र अफगानिस्तानको स्कोर ५–५  थियो । नेपाल त्यही ५ स्कोरमा रोकिँदा अफगानिस्तानले भने थप १७ स्कोर जोड्यो । योसँगै नेपाल २२–५ को स्कोरमा पराजित हुन पुग्यो ।
यसअघि नेपाल ‘च्यालेन्ज’ मा कतारसँग ३३–० ले पराजित भएको थियो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले पुरस्कृत गरेका थिए ।

Comment